सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

भदौ १५ देखि नियमित पठनपाठन थाल्न गृहकार्य

काठमाडौं । आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो ।

सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । साउनसम्मको अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना बनाइएको छ । सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विगतमा सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको बताए । कोरोनाको सङ्क्रमण नबढेको अवस्थामा भदौ मध्यबाट पठनपाठनको सम्भावना देखिएको उनी बताउँछन्  ।

वैशाखसम्म पठनपाठन पूरा

भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना रहेको जनाइएको छ । चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भए पनि यसपटक चैत वा वैशाखसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका निर्देशक गौतमले बताए ।

पछिल्लो शैक्षिक सत्रको एक महिना अध्यापन गराउन सकिए समस्या नहुने उनको भनाइ छ । सरकारले औपचारिकरूपमा असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालनमा ल्याएको छ । वैकल्पिक विधिबाट गरिएको पठनपाठनलाई निश्चित मूल्याङ्कन गरिएको अवस्थामा शैक्षिक सत्र पूरा गर्न सकिने निर्देशक गौतम बताउँछन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षा सञ्चालनसमेत खुला गरिएपछि भदौ १५ बाट नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने बताए, तर सामाजिक दूरी भने कायम गर्न सक्नुपर्ने र त्यसलाई विशेषरूपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी गरेको र हाल खुला रहेको अवस्थामा विद्यालय सञ्चालन गर्न सकिए त्यसले सकारात्मक सन्देश दिने उनको भनाइ छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीका पुरीले विद्यालय खुल्ने कुरा सङ्क्रमणमा भर पर्न सक्ने उल्लेख गर्दै परिस्थितिको आकलन गरेर निर्णय लिनु उपयुक्त हुने बताए । सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्नु सान्दर्भिक नै हुने उनले बताए ।

यता स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थिति अनुसार विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई आग्रह गरिएको बताए । उनका अनुसार सबै विद्यालयलाई खोल्न आग्रह गरिएको छैन, स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण नभएको, स्थानीय स्वास्थ्यकर्मी र शिक्षाविद्सँग आवश्यक परामर्श गरेर मात्र विद्यालय खोल्ने तयारी भइरहेको छ ।

सामाजिक दूरी कायम राख्ने कुरा चुनौतीपूर्ण भए पनि स्वास्थ्य सेवाका अन्य मापदण्ड पूरा गरेर भदौदेखि विद्यालय खोल्न सकिन्छ । विद्यालयमा कक्षा सञ्चालन नभए पनि सबै स्थानीय तहले विद्यालय प्रशासन यसअघिदेखि नै सञ्चालन गरी विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने काम भइसकेको श्रेष्ठले बताए ।

नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहका विद्यालयमा रहेका क्वारेन्टाइन क्रमशः खाली हुँदै गएकाले परिस्थितिअनुसार विद्यालय खोल्ने आन्तरिक तयारी भएको बताए । उनका अनुसार क्वारेन्टाइनका रूपमा राखिएका विद्यालयको कक्षाकोठा निर्मलीकरण गर्ने काम भइरहेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले नेपालका ४३ प्रतिशत विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी भएकाले विद्यालय खोल्दा खासै भीडभाड नहुने बताए । उनका अनुसार कम विद्यार्थी भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भने नियमित सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि कार्यविधिसमेत बनाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार ०६:५७