काठमाडौं । प्रहरीले लकडाउन खुुकुुलो बनेसँगै जुवातास खेल्ने खोलाउनेबिरुद्ध आक्रमकरुपमा अघि बढेको छ । जुवातासमात्रै हैन पछिल्लो समय लुडो खेलमा समेत ठूलो जितहार हुने गरि खेल्ने खेलाउने कार्य भैरहेको सूचना पछ्याउँदै जाँदा शनिबार काठमाडौंबाट सात जनालाई ८७ हजार नगदसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी सात जनालाई १ थान बोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीद्वारा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले पक्राउ परेकाहरुले नाम भने सार्वजनिक गरेको छैन । प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका आठ जनालाई ६ बुक तास र नगद एक लाख १९ हजार ४०० रुपियाँ सहित शनिबार दिउँसो पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित गुल्मी गाउँपालिका–४ दिगाम घर भएका ३२ वर्षीय सुलभ न्यौपानेको सुलभ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत नौ जनालाई नगद १ लाख ३ हजार ८७५ रुपियाँ र दुुई बुक ताससहित पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ नेपाल प्रहरीले जनाएको छ ।
सत्यपाटी ।