सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

भत्ता विवादपछि नरैनापुरका सूचना अधिकारी फेरिए

बाँके । नरैनापुर गाउँपालिकामा चुलिएको क्वारेन्टाइन ब्यवस्थापन भत्ता विवादमा परि सूचना अधिकारी फेरबदल गरिएको छ । गाउँपालिकाले सूचना अधिकारीको जिम्मेवारीमा रहेका लक्ष्मीकान्त मिश्रालाई हटाएर प्रशासन प्रमुख विजय यादवलाई जिम्मेवारी दिएको छ ।

नरैनापुर गाउँपालिका–१ का सचिवसमेत मिश्राले सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएकोमा उत्पन्न भत्ता विवादपछि उनलाई हटाएर गाउँपालिकाका प्रशासन प्रमुख यादवलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारीबाट हटाइएका मिश्राले आफूले कार्य सम्पादनका क्रममा कुनै पनि काम कानून विपरीत नगरेको दावी गरेका छन् ।

मिश्राले भनेका छन्, ‘कानून बमोजिम माग भएका र कानूनले दिन मिल्ने भनेको सूचना प्रवाह गर्दा कार्यालयको गोपनीयता भंग भएको आरोप लगायो ।’ कोरोना संक्रमणका बेला गठन भएको क्वारेन्टाइन ब्यवस्थापन समितिलाई अनाधिकृतरुपमा २१ लाख ३५ हजार रुपैयाँ भत्ता दिइएको भन्दै सूचना प्रवाह भएपछि मिश्रलाई हटाइएको श्रोतको दावी छ ।

गाउँपालिकाको गोप्य बैठकमा विभिन्न जिम्मेवारी फेरबदल गर्ने तय भएपछि आफु सूचना अधिकारीको जिम्मेवारीबाट हटेको मिश्रले बताए । ‘शुक्रवारदेखि नै सूचना अधिकारीको जिम्मेवारीसँगै र प्रशासन प्रमुखको रुपमा काम गर्न थालेको हुँ, यो विवाद होइन, ब्यस्थापनका रुपमा बुझ्नुपर्छ,’ सूचना अधिकारीको जिम्मेवारी पाएका प्रशासन प्रमुख यादवले भने ।

पटक-पटक विवादमा आउने नरैनापुर गाउँपालिकामा यस पटक समृद्धि यात्रा पुस्तक प्रकाशन, क्वारेन्टाइन ब्यवस्थापन मापदण्ड, क्वारेन्टाइनमा स्वयंसेवीका रुपमा खटिएका व्यक्तिलाई भत्ता वितरण, विभिन्न विकासका योजना, कर्मचारी ब्यवस्थापन, तलब कटौती र करार कर्मचारी सम्झौताजस्ता विषय विवादित बन्दै गएको पाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार १५:३१