सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका कर अधिकृतलाई कोरोना !

बाँके । आन्तरिक राजश्व कार्यालय, नेपालगन्जका एकजना कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबार कार्यालय बन्द गरिएको छ । कार्यालयले एक दिनलाई सेवा बन्द रहेको सूचना टाँसेको छ ।

कार्यालयले सूचना निकालेर भनिएको छ, ‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरु क्वारेन्टिनमा रहनुपर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको व्यहोरा जानकारी गराइन्छ ।’

कर अधिकृतसँग ५० जना बढी प्रत्यक्ष सम्पर्कमा रहेको पाइएको छ । कार्यालय कर्मचारीसँग बाहिर मानिसको पनि घुलमिल भएको देखिएको छ । सबैको पीसीआर जाँचको तयारी भइरहेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

नेपालगञ्जको त्रिभुवनचोकको मिठाई पसलमा काम गर्ने ३९ वर्षीयमा कोरोना देखिएपछि पसल बन्द गरिउको छ । फोकलपर्सन श्रेष्ठका अनुसार, उनको सम्पर्कमा रहेका व्यक्तिको सोधीखोजी भइरहेको छ ।

बाँकेमा लकडाउन खुलेपछि पनि दैनिकजसो नै कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा बसेका छैनन् । घरमा बसिरहेका विद्यार्थी, कर्मचारी, एनजिओकर्मीहरु छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार १२:३३