सूचनाको शक्ति - The Power Of Information

        

अब कुकुरले सुँघेरै कोरोना संक्रमित व्यक्ति पत्ता लगाउने !

बाँके । कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता सक्ने तथ्य सार्वजनिक भएको छ । जर्मनीका शोधकर्ताहरुले स्नाइफर डग अर्थात सुँघ्ने क्षमता प्रवल भएका कुकुरहरु कोरोना संक्रमित पत्ता लगाउन सफल भएको दाबी गरेका छन् । उनीहरुले त्यस्ता कुकुरहरुलाई तालिम दिएर सुँघेरै कोरोना संक्रमित पत्ता लगाउन सफल भएको बताएका छन् ।

यो सुन्दा अचम्म लाग्न सक्छ तर युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन हेनोभरका वैज्ञानिककोे अध्ययनले स्फिनर कुकुरलाई प्रशिक्षण दिएपछि उनीहरूले ठूलो दक्षतासाथ कोरोना संक्रमित व्यक्ति पहिचान गर्न सक्ने कुरा पत्ता लगाएको हो । स्निफर कुकुरलाई तालिम दिएपछि उनीहरूले कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सक्ने जर्मनीका अनुसन्धानकर्ताको दाबी छ ।

अनुसन्धानमा एक साताको दिइएको तालिमपछि ८ कुकुरहरुले ९४ प्रतिशत मामिलामा संक्रमित र संक्रमित नभएकाहरुको नमुना छुट्याउन सफल भएको पाइएको हो । शोधकर्ताहरुले यो अनुसन्धानबाट त्यस्ता तालिमप्राप्त कुकुरहरुलाई संक्रमितको पहिचान गर्न विमानस्थल र खेल मैदानजस्ता सार्वजनिक स्थानमा परिचालन गर्न सकिने दाबी गरेका छन् ।

अध्ययन अन्तरगत जर्मन आर्मीका ८ स्निफर कुकुरलाई एक हप्ता तालिम दिएपछि उनीहरू म्युकस र साल्भियामा आधारित कोरोना संक्रमित पत्ता लगाउन प्रभावकारी देखिएका थिए । पशु औषधि विभागका अध्यक्ष होल्गर भोल्कका अनुसार यो एउटा सुरुवाती अध्ययन थियो । अब यसको विस्तृत अध्ययन गरी निष्कर्षमा पुग्ने र कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन स्निफर कुकुर परिचान गरिनेछ । बीबीसी

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार ०९:५०