सूचनाको शक्ति - The Power Of Information

        

बाढी, पहिरो र चट्याङबाट वैशाखयता १८१ जनाले ज्यान गुमाए, अझै ५१ बेपत्ता

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपदमा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपदमा परेर २७८ घाइते भएका छन् ।

यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिरोका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । वैशाखयता पहिरोबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् ।

यस्तै ११४ जना घाइते छन् । बाढीबाट ६ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ । मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिरोले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ ।

सो अवधिमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भएकामा पहिराले मात्रै १२६ जनाको ज्यान लियो । बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरोमै परेका पोखरेलले जानकारी दिए । बेपत्ताको अहिले पनि खोजी जारी छ । उक्त अवधिमा पहिरोमा परेर ११३ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएको प्राधिकरणले जनाएको छ । पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिरोको क्षति भएको पोखरेलले बताए । उनका अनुसार यसपालि भेल पहिराले नसोचेको ठाउँमा ठूलो क्षति बनाएकाले त्यस्ता जोखिम ठाउँमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ ।

मनसुन शुरु भएकै दिन पर्वतमा जेठ ३१ गते नौ जना भेल पहिरोमा परेर बिते । त्यसपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा ठूला पहिरो खसेर धनजनको ठूलो क्षति भएको हो । यसपालि गत असार २५ देखि २९ सम्म र साउन ४ देखि ६ गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा भएको थियो ।

सरकारले विपद्को परेका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ । यस्तै विपदमा मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने र एकै परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखका दरले दिने निर्णय गरिसकेको छ । राहत तथा आवास व्यवस्थापनलाई अहिले सरकारले तीव्र रुपमा अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार १६:४९