सूचनाको शक्ति - The Power Of Information

        

नेकपाका नेताद्वारा कार्यालयमै कुटिए इन्जिनियर

डोटी । डोटीका नेकपाका नेताले कार्यालयमै ईन्जिनियरलाई कुटेका छन् । नेकपा जिल्ला कार्यसमिति सदस्य देवबहादुर खड्काले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियर शंकरराज खनाललाई कार्यालयमै कुटपिट गरेका हुन् ।

खड्का सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका छन् । कार्यालयमै हातपात गरेपछि गाउँपालिकाले विज्ञप्ति निकालेको छ । बिहीबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरिएको छ । सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको विषयलाई लिएर हातपात भएको हो । उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको इन्जिनियर शंकरराज खनालले बताए ।

खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेश्की लिएर काम सुरु गरेका थिए । प्राविधिकले टिप्पणी उठाउँदा त्रुटि हुन गई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिइएको थियो । इन्जिनियर खनालले प्राविधिक त्रृटिका कारण १२ लाख भुक्तानी भएको छ तर काम ६ लाख ७२ हजारको मात्रै भएको बताए ।

उनले भने, ‘उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेस्की लिइसकेकाले २० हजार जतिमात्रै भुक्तानी पाउनुपर्ने हो, बढी भुक्तानी लिएको रकमसमितिले फिर्ता गर्नुपर्छ भनेपछि ममाथि हातपात गरियो ।’ योजनाका अध्यक्षले भुक्तानी भएको सबै रकम आफूले पाउनुपर्ने र फिर्ता नगर्ने भन्दै गालीगलोजसहित एक्कासी कार्यालयभित्र आक्रमण गरेको इन्जिनियर खनालले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार ०९:२०