काठमाडौं । राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीले सुरुमा कसैमाथि शंका गरिनन् । आफूसँग कसैको झगडा नभएको र रिसिबी पनि कसैसँग नरहेको भन्दै उनले कसैलाई शंका गर्न नसकेको बयान प्रहरीलाई दिइन् ।
तर प्रहरीले एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको मोबाइलको कल डिटेल हेरेर घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार काठमाडौँको डल्लु बस्ने मोहम्मद आलमले एसिड आक्रमण हुनुभन्दा केही समयअघि पवित्राको मोबाइलमा झण्डै ५० पटक फोन गरेको देखिन्छ ।
यसबारे सोधपुछ गर्दा पवित्राले आलम आफ्नो दाईजस्तै भएको बयान दिइन् । तर प्रहरी उनको यो बयानमै सीमित रहेन् । पवित्राको मोबाइलमा देखिएको कल डिटेलको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले डल्लुबाट मोहम्मद आलमलाई पक्राउ गरेपछि घटनाको भेद खुल्यो । आलमको बयानको आधारमा भारतीय नागरिक मुन्ना महम्मद पनि पक्राउ परे ।
दुवैजनाले घटनामा आफूहरुको संलग्नता स्वीकार गरिसकेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसिड आक्रमणका मुख्य योजनाकार रहेका मोहम्मदले बजारबाट फर्कने क्रममा पवित्रालाई उनी बस्ने कोठा नजिकै छोडेका थिए । उनले पवित्रा त्यहाँ पुग्नुभन्दा पहिले नै एसिड आक्रमणका लागि भारतीय नागरिक मुन्ना महम्मदलाई त्यहाँ खटाइसकेका थिए ।
पवित्रालाई फोन गरिरहँदा मोहम्मदले मुन्नालाई पनि लगातार फोन गरेको पाइएको प्रहरीले जनाएको छ । पवित्रालाई छोडेर मोहम्मद फर्केलगत्तै मुन्नाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । मोहम्मद आलम र पत्रिवा कार्कीबीच मोबाइलमार्फत दिनहुँ जसो कुरा भइरहने पाइएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् ।
रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले बिहीबार राति ११ बजे पक्रेको हो । एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । एसिडले उनको अनुहार र हातमा जलन भएको छ ।
साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनीमाथि एसिड प्रहार भएको थियो । घटनापछि काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले अस्पताल पुगेर युवतीको अवस्थाबारे बुझेका थिए । पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ ।
सत्यपाटी ।