सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा चल्ने एम्बुलेन्समा जीपीएस जडान

बुटवल । प्रदेश ५ मा चल्ने एम्बुलेन्सहरुलाई व्यवस्थित गर्न जीपीएस प्रणाली जडान गरिने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले ल्याएको यो नियमले सेवाग्राहीलाई पनि फाइदा पुग्ने बताइएको छ ।

सेवाग्राहीले समेत एम्बुलेन्स रहेको स्थानदेखि खाली रहे नरहेको जानकारी पनि सहजै पाउने निर्देशनालयले जनाएको छ । एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक बिरामीलाई छिटो सुविधा दिन प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जिपीएस डिभाइस जडान गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्लेस्टोरमा रहेको ‘एम्बुलेन्स नेपाल’ नामको एप डाउनलोड गरी अनलाइनमा गएर आफ्नो नजिक रहेको एम्बुलेन्सको जानकारी पाउनेछन् । यसका लागि जीपीएस लोकेशन अन राख्नुपर्नेछ । एपमा देखाएको एम्बुलेन्समा क्लिक गरेपछि एम्बुलेन्स कति टाढा छ भन्ने थाहा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीले बताए ।

मोबाइल एपमै एम्बुलेन्स चालकको नम्बर देखिने र सम्पर्क गरेर एम्बुलेन्स बोलाउन सकिने उनले बताए । उनका अनुसार यो सेवा मन्त्रालयले सोझै पनि दिनेछ । निर्देशनालयले शुरु गरेको २४ घण्टे हटलाइन टेलिफोन सेवाबाट पनि यो जानकारी पाइनेछ । सेवाग्राहीले निर्देशनालयको सेवा लिनका लागि ०७१–४२०४९६ मा सम्पर्क गर्न सक्ने निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले सञ्चालनमा ल्याएको यो प्रविधिको बिहीबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुनर्शन बरालले उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सेवाग्राहीलाई ठग्ने, झुट बोल्ने र सेवा नदिने एम्बुलेन्स चालकहरुलाई निरुत्साहित गरी एम्बुलेन्सलाई सेवामूलक बनाउन प्रविधि प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रदेश ५ मा विभिन्न संघ संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्सहरु सहित झण्डै ३५० एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार ०८:४१