एजेन्सी । अस्ट्रेलियाका युद्धपोतहरूले दक्षिण चीन सागरमा चिनियाँ जलसेनासँग जम्काभेट गरेका छन् । दुई देशबीच कूटनीतिक तनाव उच्च रहेको बेलामा यो घटना भएको हो । अस्ट्रेलियाको सरकारले जम्काभेटको खबरलाई खासै महत्व दिएको छैन । सबै विदेशी युद्धपोतहरूसँगको अन्तरक्रिया सुरक्षित र व्यावसायिक तरिकाले गरिएको उसको भनाइ छ ।
अस्ट्रेलियाका युद्धपोतहरू स्प्य्राट्ली टापुसमूह नजिक पुग्दा चिनियाँ जलसेनाको सामना गरेको खबर एबीसीले दिएको थियो । तर अस्ट्रेलियाका जहाजहरू विवादित टापुसमूहको १२ नटिकल माइलभित्र नगएको विश्वास गरिएको छ । अस्ट्रेलियाका पाँचवटा युद्धपोतहरू जुलाई १४ र १८ को बीचमा स्वतन्त्र रूपमा दक्षिण चीन सागर पार गरेको रक्षा मन्त्रालयका एक प्रवक्ताले पुष्टि गरे ।
उनीहरू अमेरिकी नेतृत्वको सैन्य अभ्यास रिम्प्याकमा भाग लिन हवाईतिर जाँदै थिए । क्यानबेराले कोभिड–१९ को छानबिनका लागि आह्वान गरेपछि उत्पन्न विवादका कारण चीन र अस्ट्रेलियाबीचको तनाव बढ्दो छ । बेइजिङले अस्ट्रेलियाबाट आउने बार्लीमा कर लगाएको छ भने हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानूनका विषयमा पनि विवाद छ ।
सत्यपाटी ।