सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्ट कर्मचारीलाई मेयरले संरक्षण गरेपछि उपमेयरद्वारा राजीनामा दिने तयारी

उदयपुर । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले कर्मचारीबाट व्यापक भ्रष्टाचार भएको भन्दै राजीनामा दिने घोषणा गरेकी छन् । मेयर र कर्मचारीसँगको मतभेदका कारण उपप्रमुख चौधरीले राजीनामा दिने तयारी गरेको बताएकी छन् ।

नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको भन्दै उनले राजीनामा दिने बताएकी हुन् । नगरपालिकाका कम्युटर सहायक अपरेटर सन्तोष पौडेलबाट भ्रष्टचार भएको र डेढ वर्षदेखि आफूले उठाउँदै आएका कतिपय विषय मेयर दुर्गाकुमार थापाले नमानेको उनले बताइन् ।

‘कम्युटर सहायक अपरेटर सन्तोष पौडेलले भ्रष्टाचार गरेका छन्, उनलाई कारबाही गरौं, भन्दा मेयरले सहायक अपरेटर पौडेल नभए नगरपालिका चल्दैन भने,’ उपप्रमुख चौधरीले बताइन् । उपमेयर चौधरीले कम्प्युटर सहायक अपरेटर पौडेलले पंखादेखि स्काभेटर खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइन् ।

आफूले कार्यपालिकाको बैठकमा भ्रष्टाचारको विषयमा डेढ वर्षदेखि पटकपटक कुरा उठाउँदासमेत मेयरसाप एक शब्द पनि नबोलेको बताइन् । यस्तो गन्जागोल, हिलोमा बसेर आफू काम गर्न नसक्ने भएकाले जनतासँग माफी मागेको तर राजीनामा दिइनसकेको उनले बताइन् ।

‘नगरपालिकाभित्र भएको भ्रष्टाचार बन्द हुनुपर्यो, सफा हुनुपर्यो अनिमात्र आफू यो पदमा बस्न सुहाउँछ,’ उपमेयर चौधरीले भनिन् । भ्रष्टाचारका कुरा आफूले पार्टीमा पनि राखेको उनले सुनाइन् । नगरपालिकाभित्र भएका भ्रष्टचारका प्रमाण आफूसँग भएको उनले दाबी गरेकी छिन् ।

‘नगरपालिकामा के–के भयो र भइरहेको छ, प्रमाण मसँग छ ।’ यस विषयमा मेयर थापालाई सम्पर्क गर्न खोज्दा उनको फोन अफ गरिएको छ । नगरपालिकाका मेयर र उपमेयर दुवै तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १६:२१