सूचनाको शक्ति - The Power Of Information

        

डोल्पामा बढ्दै जातीय विभेदका घटना

डोल्पा । डोल्पामा जातीय विभेदका घटना बढ्न थालेका छन् । गाउँ, समाज र सार्वजानिक स्थानमा दलित भएकै कारण गैरदलितले अभद्र व्यवहारसँगै कुटपिट गरेका घटना सार्वजनिक हुन थालेका हुन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा मात्रै केही महिनायता जातीय विभेदलाई प्रश्रय दिने किसिमका ६ वटा घटना घटेको दलित अधिकारकर्मी लीला टमाटाले बताइन् । कुकुरले धानको बेर्ना टेकेकोदेखि पशुले बाली खाएको निहुँमा समेत दलितहरू निर्घात कुटिनुपरेको उनको भनाइ छ ।

गत २२ गतेमात्रै त्रिपुरासुन्दरी नगरपालिका–१ रल्लीमा पशुले बाली खाएको निहुँमा गैह्र दलितहरुले दलित माथि सामुहिक कुटपिट गरेका थिए । त्यस्तै गतबर्ष फागुनमा त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँमा बिवाह भतेरमा गएका बेला गैरदलितहरुले दलितलाई कुटपिट गरेको टमाटाले बताए ।

जातीय विभेदका घटना दिनप्रतिदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिँदै त्रिपुरासुन्दरी नगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ । दलित अधिकारकर्मीहरुले सामूहिक रुपमा नगर उपप्रमुख चन्द्राकुमारी बुढालाई धानाकर्षण पत्र बुझाउँदै गाउँमा दलित भएकै कारण घटिरहेका घटनाप्रति गम्भीर बन्न आग्रह गरिएको छ ।

दलित अधिकारका विषयमा स्थानीय सरकार नै गम्भीर नभएको डोल्पा दलित संघर्ष समिति डोल्पाका अध्यक्ष बमबहादुर सार्कीले बताए । त्यसैगरी, दलित अधिकारकर्मी जयन्द्र विश्वकर्माले स्थानीय सरकारका कारण जातिय विभेदका घटनाहरुले कानुनी उपचार नपाउने र गाउँमै मिलाउने गरिएको बताए ।

‘’म स्यमं पनि दलित हुँ, जातीय, लैंगिक विभेद लगायतका सामाजिक मुद्दाहरूलाई न्यायिक समितिमा पु¥याए पनि जातीय प्रभाव पारेर दलित सुमुदायका पिडितले न्याय नपाउने अवस्था छ,’ उनले भने । दुई साताअघि त्रिपुराकोटमा दलितमाथि सामूहिक कुटपिटको भएको घटना पनि प्रहरी चौकी त्रिपुराकोटमा मिलाइएको भन्दै आलोचना भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १५:४३