तनहुँ । जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन् । ती अवैध र गैरकानुनी क्रसर उद्योगको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको छ । गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गरिने त्रासले तनहुँका प्रजिअ बद्रीनाथ अधिकारीको सरुवा भएको हो ।
जिल्लामा सार्वजनिक जग्गा नै अतिक्रमण गरी उद्योग सञ्चालन भइरहेका छन् । ‘अवैध तवरले क्रसर चलाउनेहरु विगतमा एलडिओ र सिडियो मात्रै नभई मन्त्री हेरफेर गर्न सक्छन्,’ भन्ने भनाइ अहिले प्रजिअको सरुवासँगै सत्य सावित भएको जिल्लावासीले चर्चा गर्ने गरेका छन् । दिनदहाडै ठुल्ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ चरम दोहन गरिने क्रसरहरुमा सांसदहरुकै संलग्नता रहेको चर्चा चलिरहेकै अवस्थामा प्रजिअ अधिकारी मन्त्रालय तानिएका हुन् ।
अवैध क्रसर उद्योग बन्द गराएरै छाड्ने अठोट लिएका उनी अवैध क्रसर उद्योगमा अनुगमन गरी मेसिनहरु नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै मन्त्रालय सरुवा भएका हुन् । जिल्लाभरका अवैध क्रसरहरुको लिस्ट हातमा लिई बाँकी जिल्ला अनुगमन समितिको टिमसँगै क्रसरहरुको अनुगमनसँगै आक्रामक शैली देखेर विरोधीहरु उनको सरुवाको दौडधुपमा लागेको चर्चा अहिले जिल्लामा चल्न थालेको छ ।
खासगरी सार्वजनिक जग्गामै अवैध क्रसर सञ्चालन गरेका राजनीतिक पहुँच पाएका ‘डन’हरु प्रजिअको कार्यशैलीको विरोधमा एक भएर लागेका प्राकृतिक स्रोत साधन संरक्षणमा लागेका अभियान्ताहरुले बताएका छन् । गत चैत्र ५ गते तनहुँको सिडियोको जिम्मेवारी पाएका अधिकारीलाई ४ महिनामै मन्त्रालय तानिएको हो ।
निकै सरल मानिने अधिकारी लकडाउनका बेला केही असहज युवाका कारण ढलान गर्न नसकिएको र काम अवरुद्ध बनेको सुडेको पुल, आँबुखैरेनीस्थित मोटरेबल पुलमा सुरक्षाको टिमसहित गएर काम बढाएका थिए । सरुवा भएसँगै अधिकारीको अवैध क्रसर बन्द गर्ने अभियान अपुरै हुने हो कि ? नयाँ प्रजिअले त्यो सहास गर्लान् कि नगर्लान् भन्ने अडकलबाजी हुन थालेका छन् ।
सत्यपाटी ।