सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीका १४ प्रेमीसँग श्रीमानले मागे १०० करोड क्षतिपूर्ति

एजेन्सी । भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् ।

उनले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिए उनीहरुविरुद्ध कानूनी कारवाही गरिनेसमेत जानकारी थियो । भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने उनलाई केही पुरुषसँग आफ्नी श्रीमतीको अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले ।

उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तीका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैले म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपुर्तिको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएमा तपाईंहरु सबैजनाविरुद्ध कानूनी कारवाही हुनेछ ।’

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरुविरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १०:५२