बन्द रहेको जमुनाहा नाका ।
बाँके । सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलेसँगै नेपाल–भारत सीमा नाका अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव दिएका छन् । पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमित घट्दै गएको भए पनि भारतमा भने अत्यधिक तीव्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरूले बताएका छन् ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतमा दैनिक ४० हजार जनामा सङ्क्रमण भेटिरहेकोले आगामी छ महिनासम्म कुनै पनि हालतमा सिमाना खोल्न नहुने बताए । उनले नेपाल भारत सिमानालाई खोलेर पुरानै अवस्थामा पुर्याउने हो भने सीमावर्ती जिल्लाहरूमा कोभिड–१९ को भयावह रुप देखिन सक्ने तर्क गरे ।
यहाँस्थित सिमाना पारीको भारतीय जिल्ला बहराईचमा हाल आएर तीव्र गतिमा कोरोना फैलिने क्रम जारी रहेकाले हतार गरेर सिमाना खोलिने हो भने त्यसको गम्भीर परिणाम हुने स्थानीय अगुवा विवेक श्रेष्ठले बताए । उनले सिमानामा अझै पनि जन्तीको आवागमन भइरहेको तथा बिना कुनै आवश्यक काम पनि मानिसहरू आउने–जाने भइरहेकोले सो पनि रोक्नुपर्ने माग गरे ।
श्रेष्ठले भारतबाट आउनेहरूलाई मात्र व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर मात्र आउन दिनुपर्ने माग गर्दै सिमानामा नियन्त्रण नगरिए अवस्था धेरै चिन्ताजनक हुनसक्ने बताए । उनले भारतबाट आउनेले कोरोना परीक्षण गराएको रिपोर्ट लिएर मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै अझै केही महिना सिमाना बन्द राखिनु नेपालको हितमा हुने बताए ।
अर्का स्थानीय दीपक पौडेलले आन्तरिक रुपमा बन्दाबन्दीलाई समाप्त गरिए पनि नेपाल भारत सिमाना अझै छ महिनाभन्दा बढी खोल्न नहुने भन्दै देशभित्रै पनि सामाजिक दूरी र मास्कमा कडाइ आवश्यक रहेको बताए । बन्दाबन्दीलाई समाप्त पारिएझैँ नेपाल भारत सिमाना पनि खुकुलो पारिने हो भने त्यसपछि आउने परिणामको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने अधिकांश स्थानीय बासिन्दाको भनाइ छ ।
सत्यपाटी ।