सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा फेरि सक्रिय भयो सलह

काठमाडौं । वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताए ।

बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताए । स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिएका छन् । तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेको उनले बताए ।

चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ । सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताए ।

शुक्रबारसम्म जोखिम

शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताए । नेपालमा रहेका सलह शुक्रबारबाट राजस्थानतर्फ फकर्ने सम्भावना छ । हावाको बहावकै आधारमा तिनीहरूले यात्रा तय गर्ने भएकाले शुक्रबारसम्म नेपालमा जोखिम कायमै छ ।

नेपालमा अब तीन दिनसम्म सलहको जोखिम रहेकाले र सजकता अपनाउनुपर्ने हुमागाईंले बताए । उनले सहल देखिएमा नजिकैको कृषि ज्ञान केन्द्रमा खबर गरिदिन आग्रह गरे । यतिबेला भारतको दिल्ली, उत्तर प्रदेश र बिहारमा सलहका झुण्ड सक्रिय रहेकाले अब हावाको बहाव नेपालतिर आएको र शुक्रबारबाट पुनः त्यतै जाने भएकाले तीन दिन जोगिएमा यो पटकको सलहको जोखिम टर्नेछ ।

धुवाँ र ध्वनि निकाल्ने कार्य सफल

सलहलाई धपाउन धुवाँ निकाल्ने, थाल पिट्ने नै हो यो विश्वमै सफल विधि भएकाले नेपालमा समेत यसको प्रयोग गरेको हुमागाईंले बताए । सलहलाई सकेसम्म बस्न नदिने र निस्क्रिय बनाउन यो विधिले नेपालमा समेत काम गरेको उनले बताए ।

एक ठाउँमा बस्न नदिने र हावाको गतिमा दौडने भएकाले सकेसम्म सीमा कटाउनु नै क्षति कम गराउन उचित रहेको र त्यसका लागि नेपालका किसानको प्रयास सराहनीय रहेको उनले बताए । रासायनिक विषादीले निक्कै असर गर्ने भएकाले योभन्दा विश्वमै राम्रो भएको धुवाँ निकाल्ने र विधिले निक्कै राम्रो काम गरेको हो ।

सलह समाउन प्रोत्साहन रकम नै कम

सलह समाउनेलाई कम्तीमा ५०० रुपैयाँ प्रतिकिलो अनुदान दिन सकेको भएमा सहल नियन्त्रणमा आउन सहयोग पुग्ने भए पनि आकर्षक प्रोत्साहन दिन नसक्दा समस्या भएको हुमागाईंले बताए । आर्थिक वर्षको अन्तिम समयमा आवश्यक रकम विनियोजन गर्न नसक्दा समस्या देखिएको हुमागाईंले बताए ।

कार्यदलले समेत एक किलोको ५०० रुपैयाँ अनुदान दिन सकेमा नियन्त्रणमा ल्याउन सकिने सुझाव पेश गरेको थियो । दिनको समयमा सलह निकै क्रियाशील रहने भएकाले रातको समयमा ठूला रुख तथा भीरमा बस्ने भएकाले आकर्षक अनुदान दिन नसक्दा सलह नियन्त्रणमा केही समस्या देखिएको उनले बताए ।

क्षतिको विवरण सङ्कलन गरिने

असार १३, १४ र १५ मा प्रवेश गरेको सलहले देशका विभिन्न स्थानहरूको कृषि उपजहरूमा क्षति गरेपछि अब कृषि मन्त्रालयले त्यसको विवरण सङ्कलन गर्ने भएको छ । प्रारम्भिक रुपमा मकवानपुरगढीमा मकै, कपिलवस्तुु, प्यूठान, बाग्लुङमा पुर्याएको क्षतिको विवरण लिने काम हुने गर्ने तयारीमा सरकार लागेको छ । मकै तथा धानमा कुन अवस्थामा कस्तो अवस्थामा क्षति गरेको छ त्यसको विवरण खोज्ने कार्यमा लागेको हुमागाईंले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार ०७:२४