सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम आयात घटेपछि नेपालगन्ज भन्सारलाई ११० करोड राजस्व घाटा

बाँके । लकडाउनका कारण पेट्रोलियम पदार्थको आयात घटेपछि नेपालगन्ज भन्सार कार्यालयलाई एक अर्ब १० करोड ८९ लाख ९१ हजार रुपैयाँ कम राजस्व घाटा भएको छ । पेट्रोलियम पदार्थको खपत घट्दा आर्थिक वर्ष २०७६/०७७ मा ‘हाई स्पीड डिजेल’ आयातबाट ८९ करोड १२ लाख ७३ हजार रुपैयाँ राजस्व घाटा भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६ मा यो भन्सारबाट तीन अर्व २३ करोड ३५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको थियो, तर गत आवमा दुई अर्व ३४ करोड ३३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । साविक वर्षभन्दा यसपटक पेट्रोलतर्फ ५८ करोड २९ लाख रुपैयाँ कम राजस्व संकलन भएको बताउँदै उनले खाना पकाउने एलपी ग्यासतर्फ पनि ११ करोड ८१ लाख ९३ हजार रुपैयाँ कम राजस्व संकलन भएको बताए ।

हवाई इन्धनको राजस्व संकलनमा पनि चार करोड १२ लाख ३४ हजार रुपैयाँ घाटा भएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिएका छन् । त्यसैगरी, सिमेन्ट क्लिङ्करको आयात घट्दा राजस्वमा प्रत्यक्ष असर परेको छ । आव २०७५÷०७६ को तुलनामा गत आवमा सिमेन्ट क्लिङ्करतर्फ १५ करोड ६३ लाख ९६ हजार रुपैयाँ राजस्व घाटा भएको निरौलाको भनाई छ । तामाको धुलो आयातबाट तीन करोड ४४ लाख ४० हजार रुपैयाँ तथा फर्निचरका सामग्री, फ्रिज लगायत अन्य स्टिलका सामग्री आयात हुँदा ११ करोड ७४ लाख ५९ हजार रुपैयाँ राजस्व घाटा भएको भन्सार कार्यालयले जनाएको छ ।

चिसो पेय पदार्थ तथा अन्य कार्बन आयातमा पनि कमी आएको छ । यी बस्तु आयातबाट ५५ लाख ५९ हजार रुपैयाँ र अटो रिक्सा (तीन पाङ्ग्रे) आयातमा चार करोड ४९ लाख ८८ हजार ५७६ रुपैयाँ कम राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । तर, लकडाउनले खाद्यान्न र तरकारी आयातबाट हुने राजस्वमा कुनै असर नपरेको प्रमुख भन्सार अधिकृत निरौलाले बताए । उनले आर्थिक वर्ष २०७५र०७६ को तुलनामा चामल आयातबाट १० करोड ९६ हजार रुपैयाँ राजस्व वृद्धि भएको बताए ।

त्यसैगरी, फिनिसिङ सेरामिक्स आयातबाट चार करोड ६९ लाख ६८ हजार र चिनी आयातबाट तीन करोड ५५ लाख ६८ रुपैयाँ बढी राजस्व संकलन भएको छ । आलु आयातबाट दुई करोड २६ लाख २७ हजार र तोरीको बीउ आयातबाट आव २०७५/०७६ को भन्दा गत आवमा आठ करोड ५५ हजार रुपैयाँ बढी राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १६:२५