दाङ । तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’को हत्या भएको एकदशक पुगेको छ । तर, हत्यारा भने पत्ता लागेको छैन । धिताल हत्याका सम्बन्धमा २०६७ सालमा तत्कालीन एआइजी किरण गौतम नेतृत्वको अनुसन्धान टोलील ९८ प्रतिशतसफलता हासिल गरिसकेको दाबी गरेको थियो ।
मंगलबार १० स्मृति सभा गर्दासम्म प्रहरीले बाँकी दुई प्रतिशत अनुसन्धानको टुंगो लगाएको छैन । विगतमा सञ्चार उद्यमी धिताल हेमराज प्रतिष्ठानले औपचारिक कार्यक्रम गर्दै आएको थियो । तर, यसपटक कोरोनाको कारणले धितालको शालिकमा माल्यार्पण र रक्तदानमात्र गर्यो ।
त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको केन्द्रीय कार्यालय तुलसीपुर परिसरमा रहेको स्वर्गीय धितालको शालिकमा माल्यापर्ण कार्यक्रमा धितालकी छोरी मनिषा धितालले बुवाको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिन् । उनले १० वर्षसम्म पनि आफ्ना बुवाको हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी प्रशासनको समेत विश्वास नलाग्ने बताइन् ।
यता प्रहरीले भने धिताल हत्याको फाइलको अध्ययन र अनुसन्धान सुरु गरेको बताएको छ । कार्यक्रममा पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले २०६७ साउन ६ मा एक समूहले धितालको गोली हानी हत्या गरेको सम्बन्धमा बिगतमा गरिएको अनुसन्धान र बिश्लेषणलाई अध्ययन गरिरहेको बताए ।
‘१५ दिन भयो, धिताल हत्याको फाइललाई अध्ययन गर्न सुरु गरेको छु,’ उनले भने, ‘इप्रका तुलसीपुर सरुवा भई आएको झण्डै डेढ महिनाको अवधिमा लकडानका कारण अन्य विषयमा र बाँकी १५ दिनपछि अनुसन्धान फाइललाई अध्ययन गरीरहेको छु ।’ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नवौं स्मृति कार्यक्रममा गरिएको प्रतिवद्धता पूरा गर्न नसकेको स्वीकारे ।
यद्यपि, अनुसन्धान भने जारी रहेको बताए । धितालको २०६७ साउन ६ मा साविक उरहरि गाबिसको हेमनगरमा अपराह्न साँढे ५ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनी राप्ती सञ्चार सेवाद्वारा सञ्चालित रेडियो तुलसीपुरका अध्यक्ष थिए ।
सत्यपाटी ।