सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा पहिलो पटक कोरोनाबाट चिनियाँ महिलाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो ।

काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।

यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन । यसबाहेक हालसम्म नेपालमा कोरोनाबाट ४० जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितको १७ हजार ९९४ पुगेको छ । ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १५:१६