सूचनाको शक्ति - The Power Of Information

        

१९ घरधुरी लालपुर्जाबिहीन

हुम्ला । हिमाली जिल्ला हुम्लाको एउटा पुरै बस्तीका बासिन्दाले जग्गा उपभोग गर्दै आए पनि लालपुर्जा भने पाएका छैनन् । लालपुर्जाका लागि सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने भएपछि उक्त गाउँका स्थानीय बासिन्दाहरुको हातमा हालसम्म लालपुर्जा नपरेको हो ।

धेरै जग्गा हुनेमध्यकी ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी हिराकला बुढाले जग्गा उपभोग गर्दै आएको भए पनि दर्ता भए नभएको थाहा नभएको बताइन् । पञ्चायत कालमा मुखियालाई तिरोस्वरुप मानोपाथी तिर्दै आएको भए पनि पछिल्लो शासन व्यवस्थामा त्यो पनि तिर्न छोडिएको उनको भनाइ छ ।

२०५४ सालमा नापीको टोली भने आएर जग्गा नापी गरेको भए पनि लालपुर्जा हातमा परेको छैन । जिल्ला आएर लालपुर्जा लिन नापी टोलीले सुझाएको भए पनि चार दिन पैदल र एउटा चार हजार अग्लो मने लेक काट्नुपर्ने भएपछि जान नसकिएको उनले गुनासो गरिन् । अर्का स्थानीय टेकबहादुर रोकायाले लालपुर्जा बनाउन आठदेखि दश दिन लाग्ने देखिएपछि गाउँले नगएको बताए ।

त्योसँगै खर्चको कुराले पनि लालपुर्जा बनाउन समस्या परेको हो । गाउँका बुढापाकाहरु आफूले लालपुर्जा देख्न नपाएकोमा दुःख व्यक्त गर्छन् । मासपुर गाउँमा १९ घरधुरी रहेका छन् । तर हालसम्म कसैको हातमा पनि लालपुर्जा भने छैन । जग्गा नापी भई मालपोतमा दर्ता भएर पनि आउजाउ समस्याको कारण गाउँबासीको हातमा लालपुर्जा नपरेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए ।

अहिले पनि मासपुरबासी लालपुर्जा बनाउन जाने मनस्थितिमा नदेखिएपछि अब गाडी सञ्चालनमा आएपछि गाउँपालिकाले व्यवस्था गर्ने उनले बताए । हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसानलाई दिँदै आएको कृषि अनुदानबाट यहाँका नागरिक बञ्चित हुनुपरेको छ । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपैयाँ कृषिका लागि अनुदान दिए पनि यहाँका स्थानीयले जग्गाको लालपुर्जा नभएकै कारण नपाएका हुन् ।

२०५० साल फागुन १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म लालपुर्जा नलिएको मालपोत कार्यालयले जनाएको छ । ताजाँकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको निमित्त प्रमुख रबिन्द्र शाहीको भनाइ छ । गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिन सकिने उनले बताए । त्यहाँबाट स्थानीय नआएको कारणले मात्र लालपुर्जा नपाएको उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार ०८:५२