सूचनाको शक्ति - The Power Of Information

        

फलेन जुम्ली स्याउ, भएन अनुसन्धान

फाइल तस्वीर

फाइल तस्वीर

जुम्ला । जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको तिला गाउँपालिका–१ स्याउ किसान महेन्द्र बढाले बताए ।

‘के कारणले फल नलागेको हो, थाहा भएन तर यस वर्ष पहिलेका वर्षहरुमा जस्तो उत्पादन नहुने भएको छ,’ उनले भने । तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै स्याउका रुखमा फल छैनन् ।

उनले भने, ‘स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन ।’ बर्सेनि तीन टनभन्दा बढी फल्ने गरेको यो वर्ष निकै घाटा लाग्ने पाण्डेले बताए । स्याउ बिक्री गरेर गुजारा चलाउनुपर्ने किसान यस वर्ष उत्पादनमा कमी आउने भएपछि अहिलेदेखि नै चिन्तित बनेका छन् ।

सिंजा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार २५० स्याउ बिरुवा र २५० ओखर गरी एक हजार ५०० बिरुवा छन् तर उनका बगैँचामा खासै स्याउका रुखमा फल लागेको छैन ।

स्याउ उत्पादन घट्दै

कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव २०७५/०७६ मा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको र आव २०७४/०७५ मा पाँच हजार ५०० टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

कार्यालयका अनुसार उत्पादन भएको स्याउमध्ये छ हजार ५०० मेट्रिक टन निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार ४० प्रतिशत स्याउ घट्ने अनुुमान गरिएको छ ।

उनका अनुसार कालो तुषारो र असिनाले असिनाले स्याउमा फल नटिकेपछि किसानलाई घाटा हुने भएको र बीमाका लागि पहल भइरहेको छ । चाँडै फूल फुलेको स्याउमा तुषारोले क्षति पुर्याएको बताए ।

अनुसन्धान भएन

किसानलाई यति ठूलो क्षति हुँदा पनि सरोकारवाला निकाय मौन भएको देख्दा किसान आफैँ चिन्तित भएका छन् । स्याउ किसान रामसिंह रावलका अनुसार अहिले जिल्लाभरि स्याउमा फल नभएको सबैलाई थाहा छ तर सरोकारवाला निकाय टुलुटुलु हेरिरहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १५:५९