सुर्खेत । कुनै राजनीति पार्टी, संस्था वा कार्यालयमा आवद्ध व्यक्तिले सोही आफ्नो आवद्धता कुनै राजनीति पार्टी, संस्था वा कार्यालयकै प्रक्रिया अनुसार छोड्नुपर्छ । अर्थात् जुन व्यक्ति जहाँ र जुन विषयसँग व्यक्ति सम्बन्ध राख्छ, सोही ठाउँ र विषयसँग मात्रै सम्बन्धीत हुन्छ ।
तर सुर्खेतको सिम्ता गाउँपालिकामा भने एउटा अनौठो दृष्य देखिएको छ । सिम्ता गाउँपालिका वडा नम्बर १ घोरेटाका रामप्रसाद शर्मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा सदस्य हुन् । सामुदायिक स्वास्थ्य केन्द्र घोरेटाका प्रमूख भएकै कारण पार्टीको वडा सदस्यबाट राजिनामा दिनुपर्ने भयो ।
उनले आफू रहेको नेकपाको वडा कमिटीमा पार्टीको विधान र प्रक्रिया अनुसार वडा सदस्य पदबाट राजिनामा दिएको जानकारी गराउनुपर्दथ्यो । उनले त्यो प्रक्रिया बुझेनन् वा अरु कसैको सल्लाहमा त्यसो गरे, त्यो उनैलाई थाहा होला । उनले नेकपाको वडा सदस्यबाट राजिनामा दिएको निवेदन गाउँपालिकामा पुग्यो ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई सम्बोधन गर्दै आफ्ले वडा सदस्यबाट राजीनामा दिएको निवेदक वडा सदस्य शर्माले निवेदनमा उल्लेख गरेका छन् । उनको निवेदनमा गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले तोक लगाएर आन्तरिक कारबाहीका लागि प्रक्रिया अघि बढाएको देखिन्छ ।
नेकपा गाउँपालिका सिम्ता गाउँ कमिटीका अध्यक्षसमेत रहेका गाउँपालिकाका अध्यक्ष केसीले नै तोक लगाएपछि निवेदन गाउँपालिकाको दर्ता शाखामा ३६ नम्बरमा निवेदन दर्ता भएको देखिन्छ । अझ निवेदनमा गाउँपालिकाका अध्यक्ष केसीकै हस्ताक्षरमा नेकपा वडा कमिटी घोरेटाका अध्यक्षलाई राजिनामा स्वीकृत गरिएको जानकारी सोही निवेदनमा खुलाइएको छ ।
सो निवेदनमा कार्यालयकै कर्मचारीले लेखेका छन्, ‘श्री प्रशासन नियम अनुसार निजको सम्झौता गरी प्रचलित कानुन बमोजिम काममा खटाउने ।’ शर्माले दिएको निवेदन २०७७ साउन २ गते गाउँपालिकामा दर्ता भएको छ । अध्यक्षद्वारा ‘श्री प्रशासन नियम अनुसार निजको सम्झौता गरी प्रचलित कानुन अनुसार काममा खटाउने’ भनेर आदेशसमेत गरिएको छ ।
पार्टीको वडा सदस्यबाट राजिनामा पार्टीकै संगठनमा दिनुपर्छ भन्ने प्रक्रियाका बारेमा सबै जानकार छन् । तर, प्रक्रियाका बारेमा जानकार हुँदाहुँदै निवेदक र निवेदनउपर छानविन गर्ने गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीहरुले पार्टीबाट दिएको राजिनामा कुन मनसायले कसरी दर्ता गरे भन्ने खुल्न सकेको छैन ।
गाउँपालिकाका अध्यक्ष केसी तत्कालीन एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । अहिले वडा सदस्य शर्माले दिएको उक्त निवेदन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । राजीनामा पत्र दर्ताबारे जिज्ञासा राख्दा केसीले जागिर सुरक्षित गर्नका लागि उनले पार्टीबाट राजीनामा दिएको बताए ।
उनले भने, ‘शर्मा सामुदायिक स्वास्थ्य केन्द्र घोरेटाका प्रमुख हुन् । उनी करारको रुपमा त्यहाँ कार्यरत छन् । जागिर सुरक्षित गर्नका लागि उनले पार्टीबाट राजीनामा दिएका हुन् ।’ करार अवधि थप गरी अहिले उनी पुनः सोही स्वास्थ्य केन्द्रमा कार्यरत रहेको उनले बताए । यता, शर्माले सामाजिक सञ्जालमार्फत घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले आफू १४ बर्षदेखि स्वास्थ्य चौकी घोरेटामा (हाल स्वास्थ्य इकाई केन्द्र गान्द्रा)मा कार्यरत रहेको जानकारी दिँदै फेसबुकमा लेखेका छन्, ‘निजामति ऐनको दफा ४४ र ६१ को (ङ) अनुसार मेरो पेशालाई मर्यादिन बनाउनका लागि र जनतालाई स्वास्थ्य सम्बन्धी आधारभूत सेवा निष्पक्ष बनाउनका लागि कुनै पनि दलको पार्टी कमिटीमा नरहेको जानकारी गराउँदछु ।’
साथै उनले भनेका छन्, ‘सिम्ता गाउँपालिकामा रहेको मेरो व्यक्तिगत निवेदन लगायतका कागजातहरु एकाएक केही व्यक्ति र अनलाइन खबरमा मेरो सामाजिक र नैतिकरुपमा अपमान हुने गरी सार्वजनीक भएकाले मेरो ध्यानाकर्षण भएको छ ।’ उनले गाउँपालिकामा रहेका कागजात कसरी बाहिरिए सोको छानविन गरी कारबाहीका लागिसमेत माग गरेका छन् ।
सत्यपाटी ।