सूचनाको शक्ति - The Power Of Information

        

नेकपाको ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको छ । बैठक आजै दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

दुई अध्यक्षबीचको वार्ता र सहमतिको प्रयासका लागि समय अपुग भएको भन्दै दुई घण्टाका लागि बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले बताए । स्थायी कमिटी सदस्य बेदुराम भुसालले बैठक किन स्थगित गरिएको हो भन्नेबारे केही जानकारी नगराइएको बताए । बैठकअघि दुई अध्यक्षबीच सहमतिको प्रयास गर्ने भन्दै बैठक स्थगित गरिएको हुनसक्ने उहाँले अनुमान लगाए ।

दुई अध्यक्षबीचको आन्तरिक विवादका कारण नेकपामा सहमतिको प्रयास जारी राखिएको छ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक अहिलेसम्म नियमित सूचीमा प्रवेश गर्न नसकेको नेताहरूको भनाइ छ । बैठकमा केही स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्न थालेपछि बैठक सूचीबाट डाइभर्ट भएको एक नेताले भने । असार २० देखि नियमित स्थायी कमिटी बैठक स्थगित हुँदैआएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १३:१५