बाँके । धान खेतीलाई आवश्यक पर्ने समयमा अन्न भण्डार मानिने बाँके र बर्दियामा रासायनिक मलको अभाव भएको छ । धान खेतीमा युरिया मल हाल्नुपर्ने समयमा अभाव हुँदा त्यहाँका कृषकहरु उत्पादन घट्ने चिन्तामा रहेका छन् ।
यस वर्ष समयमै धान रोपाइँ शुरु गरेका बाँके र बर्दियाका कृषकले रासायनिक मल अझैंसम्म पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष बाँके र बर्दियामा धान रोपाइँ अन्तिम चरणमा रहेको छ । धान रोपेको तीन सातापछि युरिया मल हाल्नुपर्ने हुँदा उक्त समयमा मल नपाउँदा दुवै जिल्लाका किसानहरु समस्यामा परेको ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।
हरेक वर्ष खेतीपातीको समयमा मलको समस्या बढ्दै गइरहेकोले रासायनिक मलको विकल्प खोज्नुपर्ने उनको भनाई छ । गुणस्तरीय बीउ र सिँचाइको समस्या व्यहोरीरहेका किसानले बिगतमा जस्तै यस वर्षपनि रासायनिक मलको अभाव झेल्नु परेको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार तेस्रो मुलुकबाट मल आयातमा ढिलाई भएका कारण युरिया मलको अभाव भएको हो ।
डिएपी मल आयात भएपनि युरिया मल खरिद प्रकृयामा रहेकोले मल आउने बित्तिकै वितरण गर्ने कार्यालय प्रमुख रमेश पौडेलले बताए । सरकारले मुलुकको अर्थतन्त्रको आधार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइरहँदा हरेक वर्ष किसानले मल, बीउलगायतका समस्या झेल्दै आएका छन् । यसैबीच बाँके र बर्दियामा रहेका सहकारीहरुले आफूखुशी मल वितरण गरिरहेको खुलेको छ ।
मल अभावमा किसानले सास्ती भोगिरहेका बेला सहकारीमा आएको मललाई उचित व्यवस्थापन नगरि वितरण गरिरहेको बाँके बर्दियाका किसानहरुले आरोप लगाएका छन् । आफू निकट र चिने जानेकोलाई मल वितरण भइरहेको छ । बन्दाबन्दीका कारण सार्वजनिक सवारी चलेका छैनन् । अधिकांश किसानको निजी सवारी साधन नभएकाले पनि मलको खोजी गर्न टाढासम्म जान नपाएको बाँके खजुरा गाउँपालिकाका किसान जगत बुढाले बताए ।
उनले भने, ‘अहिले खजुरा गाउँपालिकामा मल वितरण भइरहेको छ । मल लिन हामी लाइनमा छौं तर, सहकारीका कर्मचारी मल नभएको भन्दै हटाइरहेका छन् । देश संघीय संरचना गएसगैं स्थानीयको समस्या स्थानीयरुपमै समाधान र सम्बोधन हुने आम सर्वसाधरणले विश्वास गरेका थिए । तर, स्थानीय निकायको उदासिनता र कृषिको प्रर्बद्धनका लागि रत्तिभर पनि काम नगरेको बाँके डुडुवा गाउँपालिकाका किसान विनोद बर्माले बताए ।
उनी भन्छन्, ‘स्थानीय सरकार भए नभएको हामीलाई केही मतलब भएन । जब सिजनकै बेला प्रयाप्त र सहज ढंगबाट कृषि जन्य बस्तु पाइदैन भने कसरी विश्वास गर्ने यो सरकारसँग ।’ बाँके र बर्दिया देशमै धान खेतीका लागि चर्चित छ । तर, राज्यको उदासिनता कै कारण वर्षेनी किसानले कृषिजन्य सामाग्री, मल बीउविजनको समस्या खेप्दै आएका छन् ।
सत्यपाटी ।