सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले रोकेन चुरा र मेहन्दीको ‘क्रेज’

बाँके । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । अझ पछिल्लो समय किशोरीहरुमा समेत नाडीमा हरियो चुरा र हातमा मेहन्दी लगाउने ‘क्रेज’ बढेको छ । साउनमा प्रकृतिमा पनि जताततै हरियाली छाउँछ । साउनमै हरियो चुरा र मेहन्दी लगाउँदा जीवनमा हरियाली छाउने हिन्दू महिलाहरु विश्वास गर्छन् । कतिपयले हरियो चुरा लगाएपछि फुटाउनुहुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन् ।

अहिले अधिकांश महिला तथा किशोरीको नाडीमा काँचका हरिया चुरा र हातमा मेहन्दी सजिएको देख्न पाइन्छ । नेपालगन्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । कोरोना संक्रमणका कारण चार महिनासम्म बन्द रह्यो एकलैनी । चार महिनादेखिको बन्दाबन्दीमा सुनसान बनेको एकलैनीको गल्लीमा साउन लागेसँगै चहलपहल बढेको छ । कोरोनाले हरियो चुरा र मेहन्दी लगाउने ‘क्रेज’लाई रोक्न सकेको छैन ।

बन्दाबन्दी केही खुकुलो भएसँगै खुलेको गल्ली साउन महीना सुरु भएसँगै चुरा र मेहन्दीको व्यापारमा व्यस्त बनेको छ । चुरा र मेहन्दी किन्न अहिले महिलाहरुले एकलैनीको गल्लीमा चहलपहल बढाएका छन् । नेपालगन्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता, चप्पल, कपडादेखि कस्मेटिक, चुरापोते लगायतका पसलहरु सानो गल्लीभित्र लहरै लागेका छन् । जुन यस्तो गल्ली हो, जहाँ ग्राहकको भीड नलागेको कुनै दिन हुँदैन ।

सस्ता र राम्रा सामानहरु पाइने विश्वासमा सधैं ग्राहकले भरिने बजार हो, एकलैनी । सदाबहार सबैको रोजाइँमा पर्ने एकलैनी बजारमा सामान किनमेल गर्नेको भीड र ताँती सधैं एकनासको हुन्छ । एकलैनी बजार, जहाँ साउन लागेपछि ग्राहकको भीड बढेको छ । कोरोनाको जोखिम कायमै छ, तर ग्राहक भने एकलैनीमा ओइरिएका छन् । नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडिहामा नेपालीको आवागमन अझै सुरु भएको छैन ।

त्यसैले पनि एकलैनीमा हरियो चुरा र मेहन्दी किन्नकै लागि ग्राहकको भीड बढिरहेको छ । पुरुषभन्दा महिला ग्राहकहरुले एकलैनी बजारको साँघुरो गल्ली भरिएको छ । पुरै हरियो चुराहरुले सजिएको गल्लीमा साँझपख महिलाहरुको झन् धेरै भीड बढ्ने गर्छ । जहाँ हरेक पसलमा हरिया चुरापोते झुण्डिरहेका छन्, ग्राहकहरुले चुरापोते र रंगीबिरंगी मेहन्दी छानिरहेका हुन्छन् । पसलेलाई विक्री गर्न भ्याईनभ्याई छ ।

१५ बर्षे किशोरीदेखि ६५ बर्षे वृद्ध महिलाहरु हरिया चुरा, पोते र रंगीबिरंगी मेहन्दी किन्नकै लागि एकलैनी भित्रको साँघुरो गल्लीमा भीड बढाइरहेका छन् । त्यसो त नेपालगन्जका अन्य बजार र गल्लीहरुमा हरिया चुरापोते र रंगीबिरंगी मेहन्दी नपाइने भन्ने होइन । तर ग्राहकलाई एकलैनीकै सामानमा विश्वास छ । सबैको रोजाइँमा एकलैनी बजार नै पर्ने गर्छ । एकलैनीलाई गृहिणीको बजार पनि भनिन्छ । त्यसैले यहाँ खाद्यान्नका पसल पनि उत्तिकै छन् ।

अझ अहिले सीमावर्ती रुपैडिहा बजार जान नपाएका नेपाली उपभोक्ताहरुको रोजाइँमा एकलैनी बजार नै पर्ने गरेको छ । ‘यही बजारमा कस्मेटिकका सामानको किनबेच धेरै हुन्छ, साउन महीना लागेपछि चुरापोते र मेहन्दीको व्यापार निकै बढेको छ,’ दुई दशकदेखि एकलैनीमा पसल चलाइरहेका आशिष निगमले भने । साउन महीना सुरु भएसँगै किनमेलका लागि भीड लाग्ने भएकाले अहिले व्यापारीलाई फुर्सद छैन ।

एकलैनीमा सबैभन्दा बढी कस्मेटिककै पसल छन् । दोस्रो स्थान खाद्यान्न पसलले ओगटेका छन् । कस्मेटिक पसल सञ्चालक अनु सिद्दिकीले भनिन्, ‘सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनी बजार चलिरहेको छ । साउन महीना लागेपछि महिला दिदीबहिनीहरु किनमेलका लागि धेरै आउनुहुन्छ । हाम्रा लागि पनि यो त सिजनै हो ।’ बजार बढ्दै गएपछि पसल पनि उत्तिकै बढेका छन् । योसँगै व्यापारमा प्रतिस्पर्धा पनि बढेको सिद्दिकीको भनाई छ ।

एकलैनी बजारमा १५० भन्दा बढी पसल सञ्चालनमा छन् । यहाँ सस्तोमा पाइने चुरा र मेहन्दीमा होइन, रु.एक सयदेखि रु.दुई हजारभन्दा बढीका जुत्ता–चप्पल पनि यहाँ पाइन्छन् । तर साउन लागेपछि जुता चप्पलभन्दा चुरापोते र मेहन्दीकै व्यापार चम्किएको बताउँछन्, ३० वर्षदेखि एकलैनीमा जुत्ता–चप्पलको पसल गर्दै आएका अजिज अहमद सिद्दिकी । ‘यहाँ पाउने सामान बाहिर किन्दा महंगो पर्छ, यहाँ सस्तोमा पाउँछ,’ सिद्दिकीले भने ।

साउनमा पनि दशैं, तीज एवं विवाहमा भन्दा राम्रो व्यापार हुुने गरेको एकलैनीका व्यापारी बलराम हेमकारले बताए । साउनमा रातो, हरियो तथा पहेँलो रंगको कम्बिनेस गरिएको पोते किन्न आउनेहरुको संख्या बढेको उनको भनाई छ । ‘अहिले चुरापोते किन्न आउनेहरुको भीड निकै धेरै छ,’ हेमकारले भने, ‘हरिया चुराका साथमा पहेँलो, रातो, रानी तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुने गरेका छन् ।’

बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । नेपालगन्जको एकलैनी बजारको साँघुरो गल्लीभित्र हरियो चुरा र मेहन्दी किन्ने महिलाहरुको भीड अहिले देखिन्छ । साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो, पहेँलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ ।

साउन महिना सुरु भएसँगै हरियो चुरापोते र मेहन्दीको माहोलले महिलाहरुलाई छोपिसकेको छ । यतिबेला एकलैनी बजारका श्रृंगार पसलहरुमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप देख्न सकिन्छ । अरु समयमा नलगाए पनि साउन महिनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको एकलैनी बजारमा चुरापोते किन्दै गरेकी बर्दियाकी सुमित्रा रानाले बताइन् ।

‘साउन महिनामा सबैले हरियो चुरा र मेहन्दी र लगाउने गर्छन्,’ रानाले भनिन्, ‘म पनि चुरापोते र मेहन्दी किन्नकै लागि बर्दियाको मैनापोखरबाट नेपालगन्ज आएकी हुँ ।’ यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उनको भनाइ छ । त्यसो त कतिपय अविवाहित युवतिहरुले राम्रो र योग्य पति पाइन्छ भन्ने मान्यता र विश्वास भएकाले हरियो चुरा र मेहन्दी लगाउने गर्दै आएका छन् ।

त्यसो त साउन महीनामा हरेक सोमबार भगवान शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्ने गर्छन् । साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउँदै नेपालगन्ज–५ कि अस्मिता थापाले भनिन्, ‘साउनमा ब्रत बसेर श्रीमानको दिर्घायु हुन्छ भने हाम्रो सामाजिक र धार्मिक मान्यता पनि हो ।’

कतिपय किशोरीहरुले भने देखासिकी र रहरले साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने गरेको उनको भनाई छ । चुरा सौभाग्यको निसानी हो भन्ने धारणा अधिकांश महिलाहरुको छ । तर, आजभोलि अविवाहित किशोरीहरुमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । साउनमा चुरा र मेहन्दीको माग उच्च हुने नेपालगन्जका चुरा व्यावसायीहरु बताउँछन् ।

साउनमा पहिले यस्तो तामझाम हुदैनथ्यो, हिन्दु धर्मानुसार विवाहिताले मात्र चुरा लगाउँथे । पश्चिमा संस्कृतिको प्रभावमा नयाँ पुस्ता यसप्रति बढी आकर्षित हुने गरेको छ । ‘अहिले दैनिक सातरआठ हजार रुपैयाँको चुरा विक्री हुने गरेको छ,’ व्यवसायी हेमकारले भने, ‘साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ । दुईरतीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वात्तै बढेको छ ।’

बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने रङका चुरा खोज्न थालेको व्यवसायीहरु बताउँछन् । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । एकलैनी बजारमा अहिले रु.३० देखि एक हजारसम्मको चुराको व्यापार भइरहेको छ । हरियो चुरा लगाउनुका धार्मिक एवं संस्कृतिका महत्व थाहा नभएकाहरुसमेत हरियो चुरा र मेहन्दी लगाइरहेका छन् ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरु प्राय त्यही चिजमा झुमिन्छन् । कतिपय ग्राहकले वास्तुशास्त्र अनुसार चुराको रङ छनोट पनि गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेँलोले ज्ञानबुद्धि र शिक्षा, निलोले सु–स्वास्थ्य तथा हरियोले प्राकृतिक र बैद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले ग्राहकहरुले पनि आफूले मन पराएका त्यस्ता रङको चुरा खरिद गरेर लगाउने गरेको चुरा व्यावसायीको भनाइ छ ।

एकलैनी बजारमा चुरा व्यवसाय गर्दै आएकी नसरुल सिद्दकीले भनिन्, ‘साउन महिना त चुरा व्यापारीलाई तिहारजस्तै हुन्छ, महिलाहरुको भीड नै लाग्छ । आज सामान ल्यायो भोली सकिन्छ । दिनमा सयौं दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ ।’ विशेषगरी साउनमा हरियो चुराका साथै रातो, पहेँलो, हरियो रंग मिसिएका चुरापोतेहरु र अन्य कस्मेटिकका सामान किन्न आउने व्यापारीहरुको भनाई छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ०८:५६