काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा धरै घटनाहरु चर्चामा आउने गरेका छन् चाहे त्यो राम्रो तरिकाले होस् या चाहे नराम्रो तरिकाले होस् बेलाबेलामा सामाजीक सञ्जाल तताइरहेका हुन्छन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाइरल बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।
सामाजिक सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटरसाइकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो । यदि सो मोटरसाइकल सरकारी नम्बरको हुँदैन थियो र ति युवती यात्रा गरिरहेकी थिइन् भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो समय सामाजिक सञ्जालको चर्चामा आए ।
सरकारी कर्मचारीले लगाउने ड्रेस र उनीहरुले प्रयोग गर्ने सरकारी सवारीसाधनको प्रयोगका पनि आफ्नै नियम छन् । जसको विषयमा सामाजिक सञ्जालमा चर्चा हुनु आफैंमा स्वाभाविक हो । यातायात ब्यवस्था विभागका अनुसार प्रदेश–३–०२–००१ ब १४१२ नम्बरको मोटरसाइकल धादिङस्थित गल्छी गाउँपालिकाको हो ।
गाउँपालिकाले अत्यावश्यक सामाग्री ओसारपसार (स्टोर) प्रयोजनका लागि सो मोटरसाइकल प्रयोग गर्दै आएको छ । सरकारी मोटरसाइकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् । उनीहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल (सरकारी कर्मचारीको लागि दिइने संकेत नम्बर) भर्न धादिङबाट काठमाडौं गएको खुलेको छ ।
सरकारी नम्बरको मोटरसाइकल चालक प्रताप बराल गल्छी गाउँपालिकामा कार्यरत ईन्जिनियर हुन् भने सवार युवती पनि सोही गाउँपालिकामा कार्यरत सवइन्जिनियर सविता शाही हुन् । उनीहरू दुवैजना गाउँपालिकाबाट स्वीकृति लिएर नै काठमाडौंस्थित निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन गएका थिए ।
गल्छी गाउँपालिकाका प्रशासकीय अधिकृत प्रमुख मोहनकुमार श्रेष्ठले दुवैजना गल्छी गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनीहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं गएका हुन् । सरकारी सेवामा प्रवेशपछि कर्मचारीका लागि सिटरोल अर्थात सरकारी संकेत नम्बर आवश्यक पर्छ ।
श्रेष्ठले भने दुवै जना गाउँपालिकामा कार्यरत इन्जिनियर भएको बताए । श्रष्ठले भने, ‘सरकारी मोटरसाइकल पनि गल्छी गाउँपालिकाकै स्वामित्वमा छ । मोटरसाइकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ । यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदैछौं ।’
कानुनी ब्यवस्था
सरकारी सवारीसाधन सञ्चालन तथा प्रयोग सम्बन्धि निर्देशिका २०७२ मा सरकारी कर्मचारीले सवारीसाधन सम्बन्धी निर्देशिका जारी गरिएको छ । जसअनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथभ श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने ब्यवस्था छ । सरकारी सवारीसाधन प्रयोगकर्ताले सरकारी सम्पतिको उचित संरक्षण गर्दै मितब्ययी रुपमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्छ ।
साथै आफुले प्रयोग गरेको सवारीसाधनको उचित प्रयोग र त्यसको जवाफदेहिता स्वयं सवारी चालककै हुने उल्लेख गरिएको छ । जसअनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनीहरुले लगाएको कपडाको मर्यादाबारे कारवाहीस्वरुप सचेत गराउने वा कारवाही नै हुने भन्ने विषयमा गाउँपालिकामा छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
सत्यपाटी ।