सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सरकारको करिब ५१ प्रतिशत बजेट फ्रिज, संघको खर्च सन्तोषजनक

बझाङ । बझाङमा यस बर्ष पनि विकासका लागि आएको बजेट फ्रिज गएको छ । विगतका बर्षजस्तै यस बर्ष पनि संघीय सरकार र प्रदेश सरकारको विकास बजेट खर्च हुन नसकेर फिर्ता गएको छ । विकास बजेट समयमै खर्च गर्न नसक्दा बजेट फिर्ता गएको कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ ।

संघीय सरकारको पूँजीगततर्फको बजेट कार्यान्वयन सन्तोषजनक भए पनि प्रदेश सरकारको बजेट सन्तोषजनक नभएको कोष तथा लेखा नियन्त्रक शेरबहादुर विष्टले बताए । कोरोना भाइरस (कोभिड १९)का कारण भएको बन्दाबन्दीले विकास बजेटको कार्यान्वयनमा प्रभाव परेको उनको भनाई छ ।

लकडाउनका कारण विकास निमार्णका काममा प्रभावित भएका र विकास बजेट खर्च गर्न नसकिएको हो । संघीय सरकारको जम्मा बजेटको ९४ दशमलव ४७ प्रतिशत र प्रदेश सरकारको ६९ दशमलव ०२ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक विष्टले जानकारी दिएका छन् ।

संघीय सरकारको जम्मा बार्षिक बजेट ५ अर्ब ३८ करोड ३१ लख २३ हजार ९७२ मध्ये ५ अर्ब ८ करोड ५४ लाख ९५ हजार ६३१ रुपैयाँ अर्थात ९४ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको छ । यस्तै प्रदेश सरकारको जम्मा बार्षिक बजेट १ अर्ब ५६ करोड ७ लाख ३४ हजार ३९८ रुपैयामध्ये १ अर्ब ७ करोड ७२ लाख ८५ हजार ९२० रुपैयाँ अर्थात ६९ दशमलव ०२ प्रतिशत बजेट खर्च भएको छ ।

संघीय सरकारको चालु तर्फको बजेटमध्ये ९४ दशमलव ८२ प्रतिशत खर्च भएको छ । चालु तर्फको कुल बजेट ४ अर्ब ९१ करोड ९७ लाख २ हजार ३८० मध्ये २५ करोड ४७ लाख ९९ हजार ६०६ रुपैयाँ कार्यान्वयन गर्न नसकेर फिर्ता गएको छ । पूँजीगततर्फको कुल बजेट ४५ करोड ३४ लाख २१ हजार ५९२ रुपैयाँमध्ये ३ करोड २८ लाख २८ हजार ७०६ रुपैयाँ बजेट कार्यान्वयन गर्न नसकेर फिर्ता गएको छ ।

यस्तै प्रदेशतर्फको बजेट पनि फिर्ता गएको छ । जिल्लाका विकासका लागि विनियोजित रकम समयमै काम हुन नसक्दा फिर्ता गएको हो । प्रदेश सरकारको चालुतर्फको ७७ करोड ५५ लाख ८० हजार ३९८ मध्ये ८ करोड ४६ लाख ९३ हजार ५४२ रुपैयाँ फिर्ता गएको छ । पूँजीगततर्फको ७८ करोड ५१ लख ५४ हजारमध्ये ३८ करोड ६३ लाख ९९ हजार ६३ रुपैयाँ मात्र खर्च भएको छ ।

पूँजीगततर्फको कुल बजेटमध्ये ३९ करोड ८७ लाख ५४ हजार ९३७ रुपैयाँ फिर्ता गएको छ । यो कुल बजेटको ५० दशमलव ७९ प्रतिशत हो । सामान्यतया कुल बजेटको ८० प्रतिशत भन्दामाथि भए सन्तोषजनक मानिने भएको भए पनि बझाङमा प्रदेश सरकारको बजेट कम खर्च भएको कोष तथा लेखा नियन्त्रक विष्टले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १३:५६