सूचनाको शक्ति - The Power Of Information

        

डढेलोमुक्त भए दाङका वनक्षेत्र

दाङ । दाङका वनहरु डढेलोमुक्त भएका छन् । गएको हिउँदमा आफ्नो कार्यक्षेत्र अन्तरगत रहेका वनका कुनै स्थानमा डढेलो नलागेको डिभिजन वन कार्यालय दाङ जनाएको छ । आफ्नो कार्यक्षेत्र रहेको ६ वटा पालिकाका कुनै पनि वनमा वन डढेलो नलागेको भन्दै कार्यालयले गत वर्षलाई शून्य डढेलो वर्ष घोषणा गरेको छ ।

कार्यालयअन्तर्गत पर्ने दाङका ६ वटा स्थानीय तहका कुनै पनि वन क्षेत्रमा आगलागी नभएको डिभिजन प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । ‘वन डढेलोको दृष्टिकोणले यो क्षेत्र अति संवेदनशील क्षेत्रमा रहेको थियो,’ उनले भने, ‘तर यो वर्ष मौसमको साथै कार्यालयको सक्रियताले वनमा आगलागी भएन, यो दाङका लागि ठूलो उपलब्धी हो ।’

कार्यालयले गएको वर्ष दाङमा ‘शुन्य वन डढेलो महाअभियान’ सुरू गरेको थियो । पछिल्लो ७ वर्षमा जिल्लाका विभिन्न ४६३ स्थानमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । आगलागीका कारण जिल्लाका ४२ हजार ६१९ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख ज्ञवालीले जानकारी दिए । उनका अनुसार सो अवधिमा आगलागीकै कारण जिल्ला १ जनाको मृत्य, ९ घर, ५३४ क्यूफिट काठ जलेर नष्ट भएको थियो ।

जिल्लामा पर्यटन प्रवर्द्धन तथा विकासमा ४४ प्रतिशत रकम खर्च भएको छ । यसका लागि प्रदेश सरकारबाट आएको ११ करोड रुपैयाँमध्ये ४४ दशमलव २९ प्रतिशत अर्थात ४ करोड ८७ लाख १९ हजार १९६ रुपैयाँ खर्च भएको भएको कार्यालयले जानकारी दिएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ११ करोड रकममध्ये आधा कम अर्थात ४ करोड रुपैयाँ मात्रै खर्च भएको जनाएको छ ।

अन्य योजनाहरूमा बजेट खर्च भए पनि घोराही उपमहानगरपालिका १३ मा रहेको ब्राह्रकुने दह बहुउद्देश्यीय पार्क निर्माण र दंगिशरण गाउँपालिकामा कल्चरल पार्क तथा सालिक निर्माणका लागि छुट्याइएको बजेट भने खर्च हुन सकेको छैन । लकडाउनका कारण काम गर्न नसक्दा धेरै बजेट फिर्ता भएको ज्ञवालीले बताए । जिल्लामा यस वर्ष हालसम्म १५९ दशमलव ९४ हेक्टरमा क्षेत्रमा १ लाख ९० हजार ७६८ विरुवाहरू रोपिएको प्रमुख ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यीकरण गर्ने काम, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण, पुरनधारा झरना गुरुयोजना निर्माण तथा पानीको मुहान संरक्षण, तुलसीपुरमा बोटानिकल गार्डेन, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माण, शहीद स्मारक पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, बंगलाचुलीमा पार्क निर्माण, तुलसीपुरमा नवदुर्गा सामुदायिक आधुनिक ग्रीनपार्क निर्माण लगायतका काम भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १३:४१