सूचनाको शक्ति - The Power Of Information

        

खाली हुँदै बाँकेका आइसोलेसन

बाँके । बाँकेको आइसोलेसन खाली हुँदै गएका छन् । आइसोलेसनमा रहेका ३८३ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएका छन् । दुईवटा आइसोलेसन सेन्टरमा तीन महिला र १२ पुरुष गरी १५ जना संक्रमित मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका कोरोना मुक्त भएका छन् । ती गाउँपालिकाका सबै संक्रमित निको भएर घर फर्किसकेका छन् । बाँकेका आठवटा गाउँपालिकामा रहेका १२ वटा आइसोलेसन सेन्टरमध्ये १० वटा खाली भएपछि बन्द गरिएको छ । त्यसैगरी, यहाँका १०८ वटा क्वारेन्टाइन पनि बन्द भएका छन् ।

भारतलगायत अन्य देशबाट आउनेको संख्या घटेपछि यहाँका क्वारेन्टाइन बन्द भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । बाँकेमा कोरोना संक्रमित एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ । दुवैजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १३:३४