दाङ । दाङमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको मिलोमतोमा नक्कली ब्लुबुक बनाउने गिरोहलाई नै प्रहरीको फन्दामा परेको छ । सरकारी छापसमेत किर्ते बनाई नक्कली ब्लुबुक बनाइरहेको सूचनाको आधारमा चार जनालाई लु४६प ३५४१ नम्बरको सवारी दर्ता किताबसहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ्गले यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर ४ का ४८ वर्षीय कृष्णप्रसाद खनाल र तुलसीपुर ६ का २१ वर्षीय अब्दुल हफिस सिद्दिकी, वडा नम्बर ५ का चक्र बहादुर वली, वडा नम्वर ६ का ३७ वर्षीय जीवन पोख्रेल र सोही ठाउँ बस्ने ३२ वर्षीय विष्णु घिमिरेलाई पक्राउ गरेको हो ।
प्रदेश सरकार प्रदेश ५ भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप थान १, शाखा अधिकृतको छाप थान १, विभिन्न व्यक्तिका नागरिकता प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेको कागजसहित उनीहरु समातिएका छन् । उनीहरुविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।
मोटरसाइकल चोर्ने १४ जना पक्राउ
प्रहरीले मोटरसाइकल चोरीको आरोपमा १४ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगगरपालिका–१४ का २३ वर्षीय समीर सुनार, २१ वर्षीय सुवास सार्की, वडा नम्बर १६ बस्ने २१ वर्षीय सागर हमाल, वडा नम्बर १४ का ३५ वर्षीय केन्द्र बहादुर डाँगी, लमही नगरपालिका ७ का २५ वर्षीय प्रकाश चौधरी, राजपुर गाँउपालिका २ बेलाका २२ वर्षीय आयोज चौधरी रहेका छन् ।
त्यस्तै, राजपुर गाँउपालिका–२ का २२ वर्षीय प्रियतम चौधरी, लमही नगरपालिका ७ का २५ वर्षीय पाल्टुराम चौधरी, राजपुर २ का २७ वर्षीय रवीप्रताप यादव, सोही ठाउँका २७ वर्षीय राजकुमार यादव, घोराही–१७ का २३ वर्षीय निरज योगी, घोराही–१३ का १८ वर्षीय संजय परियार, लमही–७ का २४ वर्षीय धनीराम चौधरी र लमही–७ का २७ वर्षीय हेमन्त गिरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।
उनीहरुले १० वटा मोटरसाइकल चोरेका थिए । त्यसैगरी गत जेठ २६ गते गढवा गाउँपालिका–१ जेठान गाउँस्थित राप्ती नदीको बगरमा बज्रगुुरु कन्स्ट्रक्सनले पार्किङ गरेका २ वटा एक्साभेटरसहित ६ वटा सवारीसाधनमा आगजनी गर्ने तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका ४० वर्षीय नेकपा विप्लव समूहका जिल्ला सदस्य मदन केसीलाई पक्राउ गरिएको प्रमुख चन्दले बताए ।
सत्यपाटी ।