सूचनाको शक्ति - The Power Of Information

        

घर भत्किँदा आमाछोरीको मृत्यु, पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

फाइल तस्वीर

फाइल तस्वीर

दार्चुला । दार्चुलामा पहिरोले घर भत्किँदा च्यापिएर आमाछोरीको मृत्यु भएको छ । आइतबार राति अबिरल वर्षाका कारण आएको पहिरोले घर भत्किँदा च्यापिएर नौगाड गाउँपालिका–६ मा ३५ वर्षीया मानमतीदेवि ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पूर्ण सामान नष्ट भएको छ । पहिरोमा परी चारजना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

यसैबीच, काठमाडौँमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । आइतबार बेलुका खसेको पहिरोमा परी उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १२:१६