सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सरकारको सवारी मोह : गाडी खरिदमा १३ करोड

बाँके । प्रदेश नै कोभिड–१९ को चपेटामा परेका बेला प्रदेश ५ सरकारको मोह भने साधन खरिदमा प्रदेश ५ सरकारको ध्यान भने केन्द्रीत भएको छ । प्रदेश सरकारले सवारी साधन खरिदमा करोडौं रूपैयाँ विनियोजन गरेको खुलेको छ । प्रदेश सरकारले सवारी साधन खरिदमा १३ करोड बढी बजेट विनियोजन गरेको खुलेको हो । कोरोना महामारीले प्रदेश सरकारको बजेट आकार भने घटेको देखिएको छ ।

यसअघि मुख्यमनत्री शंकर पोखरेलले स्वास्थ्य र सुरक्षामा प्रयोग हुने बाहेक अन्य क्षेत्रका लागि सवारी साधन खरिद नगर्ने बताएका थिए । तर, सरकारले मुख्यमन्त्रीको भनाई विपरित बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०७७२०७८ का लागि चारपांग्रेदेखि दुईपांग्रे सवारीका लागि १० करोडभन्दा बढी रकम विनियोजन भएको छ ।

प्रदेशका ७ मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि सवारी साधन किन्नका लागि बजेट विनियोजित भएको छ । तर, कुनै निश्चित बजेट तोकेर गाडीको माग भने गरिएको देखिँदैन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि चालू आर्थिक वर्षका सवारी साधन खरिदका लागि ४ करोड ५५ लाख रूपैयाँ बजेट भएको मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थीले बताए ।

उनकाअनुसार उक्त मन्त्रालयअन्तर्गत दाङ, पाल्पा, अर्घाखाँची र बर्दियामा पूर्वाधार विकास कार्यालयका लागि ५ वटा र ऊर्जा कार्यालयका लागि १ वटा गाडी खरिद गरिने छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मातहतका कार्यालयका लागि भनेर गाडी खरिद गर्नका लागि २ करोड ४० लाख रूपैयाँ बजेट भएको मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए ।

उनकाअनुसार चारवटा नयाँ कार्यालयका लागि चारवटा र अन्य प्रयोजनका लागि एउटा गरी ५ वटा गाडी खरिद गरिने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि शान्ति सुरक्षा व्यवस्थापन भनेर ६ करोड बजेट छ । मोटरसाइकलसहित अन्य सवारीका लागि यस वर्ष ३ करोड रहेको मन्त्रालयका प्रवक्ता माधव मरासिनीले बताए ।

उनकाअनुसार प्रदेशका विभिन्न जिल्लाका २० वटा इलाका प्रहरी कार्यालयका लागि १÷१ वटा गाडी खरिद गरिनेछ । सामाजिक विकास मन्त्रालयका लागि दुई करोड बजेट गाडीका लागि छ । मन्त्रालयका सचिव गोपीकृष्ण खनालले आफूहरूले किन्ने गाडी चारवटा अस्पतालका लागि भएको बताए । प्रदेशसभा सचिवालयका लागि गाडी खरिद गर्न ५७ लाख ५० हजार बजेट छ ।

सचिवालयका लेखा अधिकृत आलोक अग्रहरिले गाडीका लागि भनेर विनियोजित बजेट मध्येबाट ५ वटा मोटरसाइकल र एउटा कार खरिद गरिने बताए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि गाडीलाई भनेर बजेट छैन । मन्त्रालयका अधिकृत टुकराज पाण्डे चारपांग्रे गाडीका लागि आफूहरूको मन्त्रालयमा यस वर्ष बजेट नभएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि पनि धेरै बजेट छैन । कार्यालयका उपसचिव यमकान्त पाण्डे सवारी साधनका लागि भनेर ५ लाख रुपैयाँ बजेट रहेको बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि ९ लाख बजेट भएको मन्त्रालयले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार ११:४३