सूचनाको शक्ति - The Power Of Information

        

छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन) जडान गरेको छ । महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन जडान गरिएको हो । पहिलो चरणमा सरस्वती मावि र छात्रा मावि सल्यानीबागमा मेसिन जडान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन स्थापना गरिएको बताइन् । उनले क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने बताइन् । किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उनको भनाई छ ।

महिनावारी भएको समयमा छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । बाँकेमा सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन स्थापना गरिएको पहिलो पटक हो ।

प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेसिन राख्ने तयारी छ । सरस्वती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र बर्णवाल, प्राचार्य सुरेशकुमार परसैला, शिक्षिक कोपिला अधिकारी, मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जयसवाल, परामर्शदाता किरण आचार्यले भेन्डिङ्ग मेसिनले विद्यालयमा छात्राहरुको निरन्तरतालाई सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार ११:२२