बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समय मनसुन थप सक्रिय भएकाले देशभर उच्च सर्तकतासगैं सावधानी अपनाउन आग्रह गरेको थियो ।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बाँकेका राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गका अनुसार राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण मानवीय र धनमालको क्षति हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सतर्कता अपनाउन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको बताए ।
बाँकेमा शनिबार बिहानदेखि नै मनसुन सक्रिय भएको छ । यद्यपी यतिबेला आकाशमा बादल रहेता पनि वर्षा भने भएको छैन । पहाडी जिल्लामा वर्षात हुनासाथ राप्ती नदीमा बाढी आउने भएकाले सुरक्षा संयन्त्र, रेडक्रस, विपद् व्यवस्थापन समितिहरुलाई विपत् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न तयारी अवस्थामा समेत राखिएको उनले बताए ।
मौसम तथा पूर्वानुमान शाखाका अनुसार आगामी केही दिन अविरल वर्षा भई बाढी पहिरो आउने सम्भावना उच्च रहेकाले पूर्वतयारी तथा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिसकेको छ । सोही सन्दर्भमा बाँकेमा पनि बाढीसगैं डुबान, कटान हुने हुदाँ सोबाट बच्न उच्च सर्तकता अपनाएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले बताए ।
वर्षेनी वर्षातका समयमा बाँकेको नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन् । भारतले राप्ती नदीमा लक्ष्मणपुर र कलकलवा तटबन्ध बनाएपछि राप्ती नदीमा बाढी आउँदा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, बेतहनी, बनकट्टी, कम्दी र नरैनापुर गाउँपालिकाको गङ्गापुर, मटेहिया, नरैनापुर तथा लक्ष्मणपुर गाउँ डुबानमा पर्ने गरेको उनको भनाइ छ ।
यस्तै पछिल्लो समय भारतले दशगजामा सडकजस्तो बाँध बनाएपछि बाँकेको दक्षिणी क्षेत्रमा रहेको डुडुवा गाउँपालिकाको हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिकाको जयसपुर, पिप्रहवा, भवानीयपुर, खजुरा र जानकी गाउँपालिकाको साईगाउँ, राधापुर लगायत ठाउँ डुबानमा पर्ने गरेका छन् ।
राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा भन्दा सडकजस्तो बाँधले डुबानको क्षेत्र बढाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग बताउँछन् । भारी वर्षा र वर्षासगैं आउने बाढीका कारण यी क्षेत्र डुब्दै आएका हुन् । अझ भारी वर्षाकै कारण नेपालगनज उपमहानगरपालिकाका विभिन्न वडा र बस्तीहरु समेत डुबानमा पर्ने गरेको छ । नेपालगनजको पानीको निकास पनि सडकजस्तो बाँधले थुनिदाँ पानीको प्राकृतिक बहाव रोकिएको छ ।
यसअघि जिल्ला स्थित सर्वपक्षिय सर्वदलिय बैठकले जिल्लाको डुवान, कटानका विषयलाई लिएर भारतले निर्माण गरेको कलकलवा र लक्ष्मणपुर बाँध तथा सडकजस्तो बाँध भत्काउन नसके पनि पानीको निकास हुने गरी ठाउँठाउँमा ठूल्ठूला कल्भर्ट बनाउन आवश्यक पहल समेत गरेको थियो
सत्यपाटी ।