सूचनाको शक्ति - The Power Of Information

        

मानवीय कमजोरीबाट कृत्रिम विपद्

 

काठमाडौ । नेपालमा प्राकृतिकभन्दा मानवीय कमजोरीका कारण सिर्जित कृत्रिम विपद्बाट धनजनको क्षति धेरै हुने गरेको पाईएको छ । क्षति बाढी, पहिरो र डुबान लगायत मनसुनजन्य विभिन्न विपद्का घटनामा मानव निर्मित संरचना तथा कमजोरी मुख्य कारण बन्ने गरेका छन् ।

जलस्रोत विज्ञ विष्णुदेव यादव अव्यवस्थित सडक निर्माण, खोला–खोल्सा नियन्त्रण, वनजङ्गल कटान र नदी नजिक बस्ती बसाउँदा बाढी, पहिरो तथा डुबानको समस्या नियतिजस्तै भएको बताए । उनले मानव बस्ती नदी र खोला–खोल्साबाट टाढा सार्नुपर्नेमा त्यसको ठीक उल्टो बस्ती बसाउन तटबन्ध निर्माण गरिन्छ । मनसुनका कारण जे–जति क्षति हुन्छ त्यसमा हाम्रो नै कमजोरी छ भने ।

चुरेको जङ्गल कटानसंँगै पहिरो जाँदा ढुङ्गा र बलौटे माटो सहितको ‘गेगर’ खोला–खोल्सामा भरिने गर्छ, त्यहाँको बाढी नियमित धारमा बग्न नसकेपछि मानव बस्तीमा पसेर वितण्डा मच्चाउने गर्छ । विभागका प्रवक्ता जनक चन्दका अनुसार पहाडी क्षेत्रमा पनि खोला–खोल्सा तथा खहरे नजिकका बस्तीमा पहिरो जाने गरेको छ ।

यस्तो जोखिम क्षेत्र आसपासमा रहेका बस्ती सार्नेदेखि सम्भावित पहिरो रोक्न वृक्षरोपण गर्ने, तारजाली लगाउने, अव्यवस्थित सडक निर्माण रोक्नुपर्ने सुझाव उनको छ । हिमाली क्षेत्रमा हिम पहिरोको सम्भावना रहे पनि सतर्कता अपनाउन सके क्षति कम हुने भनाइ विज्ञको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि तराई, पहाड र हिमाल गरी सबै क्षेत्रको मनसुनजन्य विपद् जोखिमको अध्ययन तथा मूल्याङ्कन गरी जोखिम नियन्त्रण गर्नेदेखि बस्ती सार्नेसम्मको तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेल भौगोलिक बनावट तथा मनसुनजन्य विपद्का लागि नेपाल जोखिमपूर्ण मुलुक भए पनि पूर्वतयारी तथा आवश्यक सतर्कता अपनाउन सकेमा धनजनको क्षति रोक्न सकिने जानकारी दिन्छन् । मनसुन सक्रिय भएयता मुलुकका १६३ स्थानमा पहिरो गएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतवार १३:०४