बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामका बारेमा दिएको विवादित बयानको नतिजा भारतमा रहने नेपालीले भोग्नुपरेको छ । उनको विवादति बयानपछि भड्एिका भारतीयहरु नेपाली नागरिकमाथि दुर्व्यवहार गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन् । हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन् ।
वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । ती युवकको शीरमा उक्त संगठनका कार्यकर्ताहरुले ‘जय श्रीराम’ लेख्दै दुर्व्यवहार गरेका छन् ।
उनीहरुले नेपाली युवकबाठ जवरजस्ती आफ्नो संगठन र भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएका छन् । हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ ।
भिडियोमा गंगाघाटको दृष्य देखिन्छ । उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दाबादको नारा लगाइरहेको देख्न सकिन्छ । हिन्दुवादी संगठनका कार्यक्र्ताहरु ती नेपाली युवकबाट पनि ‘जय श्रीराम’ को नारा लगाइरहका भिडियोमा देखिन्छ ।
उनीहरुले युवकबाट ‘नेपाली प्रधानमन्त्री ओली मुर्दाबाद’ को पनि नारा लगाउन दबाब दिएका छन् । हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुर्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो ।
पोस्टरमा लेखिएको थियो, ‘नेपाली पीएम ओली प्रभु श्रीरामविरुद्धको बयान फिर्ता लेउन, अन्यथा यसको परिणाम भारतमा रहने नेपालीहरुले भोग्नुपर्नेछ ।’ भिडियो भाइरल भएपछि स्थानीय प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रहरीले हिन्दुवादी संगठनका अध्यक्ष र घटनामा सहभागी उनका कार्यकर्ताहरुविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि भगवान रामको जन्मस्थल अहिलेको अयोध्या नभएको दाबी गरेका थिए । उनले राम नेपालमा जन्मेकोसमेत बताएका थिए ।
सत्यपाटी ।