सूचनाको शक्ति - The Power Of Information

        

बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया !

नेपालगन्ज–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ्ग सेन्टरमा सुत्केरी चेकजाँच गरिँदै । फाइल तस्वीर

नेपालगन्ज उपमहानगरपालिका–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ्ग सेन्टरमा सुत्केरी चेकजाँच गरिँदै । फाइल तस्वीर

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ की २६ वर्षकी प्रमिला शाह (नाम परिवर्तन)लाई डाक्टरले असारको १४ गते सुत्केरी हुने समय दिए । डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उनी भेरी अस्पताल नेपालगन्जमा पुगिन । उनी ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुगेकी थिइन् ।

उनले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए । तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् । नेपालगन्ज–४, कै लक्ष्मी सुवेदी (नाम परिवर्तन) पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माइन् । प्रमिला र लक्ष्मी प्रतिनधि पात्र मात्रै हुन् ।

धेरैलाई नर्मल डेलिभरी स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्ने जस्ता कुराले पछिल्लो समय अपरेसनबाट बच्चा जन्माउने महिलाको संख्या बढेको छ । चिकित्सकहरु पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाहरुले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन् ।

प्राकृतिकरुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाहरुले शल्यक्रिया रोज्ने गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकी प्रसुती रोग विशेषज्ञ डा.अंकुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या बढ्दो छ । उनले भने, ‘हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौ । सम्पन्न परिवारका महिलाहरु प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनुहुन्छ ।’

ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाहरुले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताए । ‘ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्नुहुन्छ,’ उनले भनिन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गएको तीन आर्थिक बर्षमा बाँकेमा ६५ हजार १४४ जना महिलाले बच्चा जन्माएका छन् । तीमध्ये १२ हजार ५४० जना अर्थात् करिब १९ दशमलब २५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिए ।

तथ्यांक अनुसार आव २०७३/०७४ मा तीन हजार ७९६, आव २०७४/०७५ मा तीन हजार ८०८ र आव २०७५/०७६ मा चार हजार ९३६ जना महिलाले सामान्य तथा जटिल शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार आव २०७६/०७७ को जिल्लाभरीको तथ्यांक भने संकलन भएको छैन ।

त्यस्तै गएको तीन आर्थिक बर्षमा प्राकृतिकरुपमा बच्चा जन्माउने महिलाको संख्या ५२ हजार ६०४ जना अर्थात् ८० दशमलब ७५ प्रतिशन रहेको छ । जसअनुसार आव २०७३/०७४ मा १५ हजार ६०७, आव २०७४/०७५ मा १६ हजार ८६३ र आव २०७५/०७६ मा २० हजार १३४ जनाले प्राकृतिकरुपमा बच्चा जन्माएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार शल्यक्रियामार्फत सबैभन्दा धेरै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २२ प्रतिशत, भेरी अस्पतालमा १७ प्रतिशत र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १४ प्रतिशतले बच्चा जन्माउने गरेका छन् भने २३ प्रतिशतले अस्पताल तथा गाउँकै स्वास्थ्य चौकीमा बच्चा जन्माउने गरेका छन् ।

२४ प्रतिशत घरमै सुत्केरी

नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि बिभिन्न सहयोगका कार्यक्रमहरु गर्दै आएका छन् । तर बाँकेका २४ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउन सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि घरमै सुत्केरी हुने क्रम अपेक्षित घट्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार जिल्लाका तीन ठूला अस्पताल र ४७ मध्ये ३४ वटा स्वास्थ्य संस्थामा निःशुल्क गर्भ चेकजाँच र प्रसूति सेवा उपलब्ध छ । जिल्लाभर चेकँजाच तथा प्रसूति सेवा उपलब्ध भएपछि चेकजाँचका लागि महिलाहरु स्वास्थ्य संस्था आउने क्रम बढे पनि अझै २४ प्रतिशत स्वास्थ्य संस्थाको पहुँच बाहिर छन् ।

पब्लिक हेल्थ नर्स श्रेष्ठले भने, ‘गाउँमा रहेका स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गराए पनि सुत्केरी हुन भने अधिकांश महिलाहरु ठूला अस्पतालमै आउने गरेका छन् । जसका कारण गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेको संख्या निकै कम र ठूला अस्पतालमा प्रसुती सेवा लिनेको संख्या निकै धेरै छ ।’

सरकारले गर्भवती महिलाहरुलाई उनीहरुले गाउँ नजिकैबाट चेकजाँच र सुत्केरी सेवा लिन सकुन् भनेर प्रोत्साहन गर्न थालेको छ । स्वास्थ्य अवस्था सामान्य भएका गर्भवतीहरु ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्था अर्थात् हेल्थ पोष्ट तथा प्राथमिक उपचार केन्द्रमा पनि सुरक्षित प्रसूति सेवा लिन सक्ने ब्यवस्था मिलाइएको छ ।

सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवाका लागि २४ सै घन्टा तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यवस्था गरिएकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिँदा पनि आमा र शिशु दुबै सुरक्षित हुने जिल्ला स्वास्थ्य कार्यालयको दावी छ । स्वास्थ्य अवस्था गम्भीर भएकाहरुलाई स्वास्थ्य संस्थाहरुले नै ठूला अस्पतालमा रिफर गरि दिने गरि ब्यवस्थासमेत मिलाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १०:४०