सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका सरकारी जग्गामा मेयरदेखि सांसदसम्मको रजाइँ, ‘ठडिँदै गगनचुम्बी महल’

बाँके । बाँकेमा नेता र जनप्रतिनिधि नै सरकारी जमिनमा अव्यवस्थित बसोबास गर्दै आइरहेका छन् । कोहलपुरको करिब ६० प्रतिशत बसोबास सरकारी जमिनमा अव्यवस्थितरूपमा रहिआएको छ । कोहलपुर बजार क्षेत्रकै धेरैजसो जमिन सरकारी रहेको छ । उक्त जमिनमा स्थानीयदेखि संघीय सरकारका जनप्रतिनिधिले समेत रजाई गर्दै आएको खुलेको छ । यहाँको सरकारी जमिन जनप्रतिनिधीले नै २५–३० वर्षदेखि भोगचलन गर्दै आएका छन् ।

कतिपय जमिनमा अव्यवस्थित बसोबास छ भने कतिपयमा अस्थायी लालपुर्जा पाएर जमिन भोगचलनमा आएको छ । कोहलपुर क्षेत्रमा ४० प्रतिशत जमिनमात्रै नम्बरी भोगचलन भैरहेको देखिन्छ । तर, कोहलपुर नगरपालिकासँग यसको यकिन विवरण छैन । यतिबेला सरकारको बाँकेस्थित राज्य संयन्त्र सुकम्बासीका घरटहरा भत्काउँदै सरकारी जमिनको संरक्षणमा जुटेको छ । यस्तो अवस्थामा बाँकेको कोहलपुर क्षेत्रका जनप्रतिनिधीले सरकारी जमिन कब्जामा लिइ ठूला–ठूला महल खडा गरेको खुलेको छ ।

बिशेषगरी कोहलपुर नगरपालिकाका क्षेत्रमा यस्तो काम भएको छ । कोहलपुर नगरपालिका भित्र सार्वजनिक जग्गामा दलका नेता र कोेहलपुर नगरपाकिलाका मेयरले समेत घर निर्माण गरेका छन् । आफ्नो नाममा नम्बरी जग्गा हुँदा हुदैँ पनि उनीहरूले राजनीतिक पहुँच पदको दुरूपयोग गर्दै सरकारी जमिन कब्जामा लिइ घर बनाएको स्थानीय बताउँछन् । संविधान सभा सदस्य एवं नेकपा नेता देवराज भारको घर नै सार्वजनिक जग्गामा रहेको खुलेको छ ।

भारको कोहलपुर नगरपालिका–१० मा रहेको २ कठ्ठा बढी क्षेत्रफलमा ऐलानी जग्गामा २ तले पक्की घर छ । ऐलानी जग्गामा घर रहेपनि भारको नाममा कोहलपुर नगर क्षेत्रमा नम्बरी जग्गा धेरै भएको उनकै पारिवारिक स्रोत बताउँछन् । उनको पोखरामा रिसोर्ट समेत सञ्चालमा रहेको खुलेको छ । भार दोस्रो संविधानसभाका समयमा बाँके क्षेत्र नम्बर–१ बाट संविधानसभामा निर्वाचित भएका थिए ।

संविधानसभा सदस्य भार मात्रै होइन पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी र कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सार्वजनिक जग्गामा घर निर्माण गरेका छन् । कोहलपुर नगरपालिका–१० को कोहलपुर नेपालगन्ज सडक खण्डमा मेयर रावतको ३ तले घर छ । रावत परिवारको कोहलपुर ८ पिपरीमा १ बिगाह बढि जमिन भएको खुलेको छ । पूर्व उपसभामुख सुवेदीको कोहलपुर बजार तथा पूर्वपश्चिम राजमार्गको कोहलपुर बसपार्क नजिक उत्तरी क्षेत्रमा पनि सरकारी जमिनमा एउटा घर भएको खुलेको छ ।

नेकपाका प्रदेश कमिटी सदस्य एवम् अखिल क्रन्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेको २ घर सार्वजनिक जग्गामै बनाएका छन् । कोहलपुर नगरपालिका–१ र २ मा एक एक ओटा घर बनाएका छन् । एक घरमा न्यौपाने र अर्को घरमा उनका भाई बस्दै आएका छन् । उनी यस अघि माओवादी केन्द्रबाट नगरप्रमुख पदमा प्रत्यासी थिए । नेता न्यौपानेको नाममा कोहलपुर–१ मा नम्बरी जग्गा रहेको खुलेको छ । कोहलपुर र बैजनाथमा १ बिगाह बढी नम्बरी खेतीयोग्य जग्गा रहेको छ ।

नेकपा कोहलपुरका नेता खिलप्रसाद भुषालले पनि सार्वजनिक जग्गामा घर बनाएका छन् । कोहलपुर २ मा झण्डै ५ कठा सार्वजनिक जग्गामा आलिसान घर बनाएका छन् । व्यवासायिक पृष्टभूमिका भुषालको कोहलपुरको मुख्य बजार क्षेत्रमा समेत घर रहेको छ । तर, उनी ऐलानी जग्गामा बनाएको घरमा बस्दै आएको उनको छिमेकी बताउँछन् । बजार क्षेत्रको घर भने नम्बरी जग्गामा छ । बजारको घरबाहेक उनको परिवारको नाममा कोहलपुर नगर क्षेत्रमा थुप्रै जग्गा रहेको छ ।

उनी घरजग्गा व्यावसायीसमेत हुन् । कोहलपुर–४ मा निर्माण भएको तारे होटल सेन्टर प्लाजा बनेको डेढ बिगाह बढि जग्गा उनैले बिक्री गरेका हुन् । उनको परिवारबाट सञ्चालित भुषाल ब्रदर्स नामक व्यवसायीक कम्पनी बाट १ दर्जन बढि सवारी साधनसमेत छन् । नेकपाकै अर्का नेता अब्दुल हुसेन खानले पनि सार्वजनिक जग्गामा घर बनाएका छन् । आफुसँग सुकुम्बासी आयोगले दिएको पुर्जा भएको दाबी गर्ने खानको आफ्नै निजी सवारी साधन छ ।

नेकपाका नेता मात्रै होइन नेपाली काँग्रेसका नेता समेतले नम्बरी जग्गा हुँदाहुँदै सार्वजनिक ऐलानी जग्गा कब्जा गरि गगन चुम्बी महल ठड्याएका छन् । घर जग्गाका कारोबारी समेत रहेका काँग्रेस नेता युवराज पौडेलको कोहलपुर नगर क्षेत्रमा बिगाहका बिगाह नम्बरी जग्गा छ । तर, उनको कोहलपुर नगरपालिका–३ को सार्वजनिक ऐलानी जग्गामा २ तले घर छ । पूर्वपश्चिम राजमार्गको मदन चोकका स्थानीयहरुका अनुसार पौडेलले बिगतमा १० कठ्ठा बढि सार्वजनिक जग्गा बिक्री गरेका थिए ।

यस्ता जनप्रतिनिधीले कोहलपुर–३ को पूर्वपश्चिम राजमार्ग क्षेत्र नजिक १५ कठ्ठा सार्वजनिक जग्गा प्लटिङ्ग गरेर बिक्री गरेका छन् । राजनितिक पहुँचको आधारमा कोहलपुर क्षेत्रमा बिगत लामो समयदेखि सरकारको सार्वजनिक जग्गा अवैध तरिकाले कब्जा गर िबिक्री बितरण भइरहेको छ । यसरी सरकारी जमिन कब्जा हुँदासमेत राज्य संयन्त्र उदासिन छ । शक्ति र पहुँच तथा राजनीतिक दाउपेचले गर्दा जिल्ला तहको सरकारी संयन्त्रले अहिले पनि कानमा तेल हालेर बस्नुको विकल्प नभएको देखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङसमेत यस बिषयमा उदासिन देखिएको कोहलपुरबासीहरु बताउँछन् । कोहलपुर क्षेत्रमा सरकारी हजारौ विघा जमिन नागरिकले अतिक्रमण गरिरहेका छन् । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले आफ्नो घर सरकारी जमिनमा भएको स्वीकार गरेका छन् । उनले आफूले २०२५ सालदेखि सरकारी जमिन भोगचलन गर्दै आइरहेको बताउँदै अहिलेसम्म उक्त जमिनका बिषयमा आफूमाथि कुनै पनि उजुरी नपरेको दाबी गरेका छन् ।

‘नापीले हरेक वर्ष उक्त जमिन आफ्नो नाममा नापी गरेको छ,’ मेयर रावतले भने, ‘स्थायी पुर्जा मात्रै नदिएको हो ।’ अहिले आफूलगायत विभिन्न जनप्रतिनिधी र नेताले भोगचलन गरिरहेको जमिनको विवाद नभएको उनी बताउँछन् । सरकारी जमिन कब्जा गरी घर बनाएर बसेको आरोप खेपिरहेका संविधानसभा सदस्य देवराज भार, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, खिलप्रसाद भुषाल लगायतसँग यस बिषयमा बुझ्न खोज्दा उनीहरूको मोबाइलमा पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

नेकपाका नेता नरेन्द्र न्यौपानेले भने यो व्यक्तिगत भन्दा पनि आमनागरिककै समस्या भएकाले राज्यकै संयन्त्रबाट समस्याको समाधान खोजिनुपर्ने बताए । उनले आफू आधा नम्बरी र आधा सरकारी जमिनमा बसेको स्वीकार गरेका छन् । उनकाअनुसार वडा नम्बर १ मा ९५ प्रतिशत जमिन सरकारी छ । जसमा आफू लगायत आमनागरिकले अव्यवस्थित बसोबास गर्दै आएको उनले बताएका छन् । यतिबेला कोहलपुर–४ किरण नालमा रहेको सरकारी जग्गामा पनि पत्रकारदेखि राजनीतिक दलका नेताहरुको समेत आँखा परेको छ । उक्त जमिनमा कोहलपुरका ब्यवसायीदेखि सम्पन्न ब्यक्तिहरुको पनि एक झुण्ड सरकारी जग्गा अतिक्रमणका लागि लागिपरेको छ । उक्त जग्गा अतिक्रमणबाट रोक्नका लागि राज्य संयन्त्र भने उदासिन देखिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १६:०२