सूचनाको शक्ति - The Power Of Information

        

शिकार हराएको बाघजस्तै अख्तियार : मुद्दा धेरै, अनुसन्धान न्यून

बाँके । देशमा कोभिड–१९ संक्रमण बढेसँगै सुस्ताएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग यतिबेला शिकार हराएको बाघजस्तै बनेको छ । केही दिनयता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दैनिक तीन/चार वटा मुद्दा दायर गरिरहेको छ । यसले यतिबेला उसको सक्रियता बढेको देखिएको छ ।

पछिल्लो समय दर्ता भएकामध्ये कतिपय लकडाउनमा रोकिएका मुद्दा पनि छन् । धेरैजसो भने लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाहरु बिशेष अदालतमा दर्ता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोका केन्द्रीय प्रवक्ता प्रदीप कोइराला बताउँछन् । अख्तियारको अनुसन्धानमा आर्थिक वर्षसँग सम्बन्ध हुँदैन ।

तर, यही आर्थिक वर्षभित्र धेरै मुद्दा दायर गर्न आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आफू मातहतका कर्मचारी र मातहतका प्रादेशिक र सम्पर्क कार्यालयलाई दबाब दिएका छन् । यो वर्ष सबैभन्दा धेरै मुद्दा दायर गरेर उनले आयोगको सक्रियता देखाउन खोजेका छन् । सोही कारण असारमा धेरै मुद्दा दायर भएको अख्तियार स्रोत नै बताउँछ ।

अख्तियारका प्रवक्ता कोइरालाका अनुसार यो आर्थिक वर्षमा चार सय भन्दा धेरै मुद्दा दायर भइसकेको छ । जुन एक आर्थिक वर्षमा दायर भएको अहिलेसम्मकै ठूलो संख्या हो । तर, धेरै मुद्दा दायरलाई प्राथमिकता दिंदा अनुसन्धान भने फितलो र न्यून हुने गरेको छ । जसकारण धेरै मुद्दामा आयोगको हार हुने जोखिम छ ।

पछिल्लो समय धेरैजसो ठूला मुद्दामा बिशेष अदालतबाट सफाईका फैसला धेरै भएका छन् । प्रमुख आयुक्त घिमिरेले दुई महिनापछि अवकाश पाउन लागेका छन् । यसैले पनि उनले पछिल्लो समय मुद्दाको संख्या बढाएका हुन् । तर, अख्तिायर र बिशेष अदालतमा उनले ठूला मुद्दा भने दायर गर्न सकेका छैनन् ।

बर्दिया बाँसगढी नगरपालिका अन्तरगतको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीको करिब साढे ४ करोड हाराहारीको एउटा मुद्दा बिशेष अदालतमा दर्ता भएको छ । तर, यस्ता दर्जन बढी मुद्दा छन् । यद्यपी राजनीतिक पहुँच र दाउपेच तथा दबाबले अख्तियारले ठूला मुद्दा दायर गरी अनुसन्धान अघि बढाउन नसकेको हो ।

कतिपय दायर भएका मुद्दा पनि राजनीतिक दबाबकै कारण बहस तथा अनुसन्धानको दायरामा समेत आउन सकेका छैनन् । यो समस्या काठमाडौमा मात्रै नभई अख्तियारका सबै प्रादेशिक तथा सम्पर्क कार्यालयमा देखिएको छ । अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा पनि यस्तो समस्याले विगतदेखिका ठूला मुद्दा अनुसनधानको प्रक्रिया जान सकेका छेनन् ।

यहाँ एउटै स्थानीय हतका दुई दर्जनबढी मुद्दा दर्ता भएका छन् । यी मुद्धा दर्ता भएको तीन बर्ष भइसक्दा पनि एउटा मुद्धामाथि अहिलेस समेत अनुसन्धान तथा कारवाही गर्न अख्तियारले सक्रियता देखाएको छैन । यसरी अख्तियार उदासिन हुनुको पहिलो कारण नैर राजनीतिक दबाब रहेको जानकारहरू बताउँछन् ।

यता अख्तियार नेपालगन्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डेले अख्तियारमा दर्ता भएका उजुरीमाथि अनुसन्धान चलिरहेको बताउँदै आएका छन् । तर, नेपालगन्जमा दर्ता भएका अधिकाशं उजुरीमाथि प्रभावकारी अनुसन्धान र कारबाही हुन सकेको देखिदैन्।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १२:३२