सूचनाको शक्ति - The Power Of Information

        

सुकुम्बासी स्थानान्तरणपछि जग्गा विवाद सकियो

यसअघि विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा । फाइल तस्वीर

यसअघि विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा । फाइल तस्वीर

बाँके । नेपालगन्जको राँझास्थित आदर्श माविको जग्गामा बसोबास गरिरहेका सुकुम्बासीलाई स्थानान्तरण गरिएपछि जग्गाको विवाद सधैँका लागि अन्त्य भएको छ । संवाद समूह, बाँकेको निरन्तर संवाद प्रक्रिया र वडा नम्वर २० वडा समिति कार्यालयको अग्रसरतापछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको हो ।

नेपालगन्ज–२० गायत्रीनगरस्थित सो विद्यालयको तीन बिघा सात कठ्ठा १४ धुर जग्गामा वषौँदेखि सुकुम्बासी र भूमिहीनका नाममा ८४ घरपरिवारले कब्जा गरी घरटहरा बनाएर बसेका थिए । पच्चीस घरपरिवार गत वर्ष नै सरे पनि बाँकी घरपरिवारलाई वडा कार्यालयले क्रमिक रुपमा व्यवस्थापन गरेको हो ।

विद्यालयको अतिक्रमित जग्गा अहिले खाली गरिएको छ भने अधिकांश परिवारले अन्यत्र घर बनाएर बसिसकेका छन् । वडा कार्यालयकै सहमतिमा विद्यालयको पश्चिमतर्फ १५ र दक्षिणतर्फ १६ घरपरिवारलाई ऐलानी र नाली किनारको जग्गामा घर बनाउन दिइएको छ ।

संवाद समूहको सहजीकरणमा गत वर्ष जेठ २ गते सुकुम्बासीरभूमिहीन, विद्यालय र वडा कार्यालयबीच वास्तविक सुकुम्बासीलाई विद्यालय र नाला वरिपरिको ऐलानी जमीनमा स्थानान्तरण गर्ने सहमति गरिएपछि व्यवस्थापन प्रक्रिया शुरु भएको थियो ।

‘वडा कार्यालयले ३१ घरपरिवारलाई रु ५०/५० हजारका दरले घर स्थानान्तरणका लागि सहयोग गरेको थियो भने सरकारका तर्फबाट सुरक्षित आवास कार्यक्रमअन्तर्गत २३ जनालाई रु ५०/५० हजार उपलब्ध गराइएको थियो,’ समूहका सहजकर्ता शुक्रऋषि चौलागाईँले भने ।

यसअघि नेपालगन्ज उपहानगरपालिकाद्वारा कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा गठित अध्ययन समितिले ४४ घरपरिवार वास्तविक सुकुम्बासी रहेको ठहर गरेको थियो । तथापि अपाङ्गता भएका र नागरिकतासमेत नभएका घरपरिवारलाई पनि व्यवस्थापन गर्नुपर्ने समितिले सुझाएको थियो ।

वडा नम्वर २० का वडाध्यक्ष कृष्णबहादुर कार्कीले विद्यालय र बस्ती व्यवस्थापनका लागि वडाबाट अहिलेसम्म करीब रु ५० लाख खर्च गरिसकिएको जानकारी दिए । बस्ती स्थानान्तरणको काम सकिए पनि बाटो, नाली निर्माण, खानेपानीलगायत काम अझै जारी रहेको जनाइएको छ ।

विसं २००९ देखि स्थानीय अगुवा राममिलन बर्मालगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय विसं २०१६ देखि आदर्श जनता प्राइमरी स्कूलका नाममा सरकारी मान्यतामा रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १२:०९