सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा सलह आतंक (फोटो र भिडियोसहित)

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिका हुँदै नेपालगन्ज प्रवेश गरेको सलह किरा उत्तर पश्चिमतर्फ अघि बढिरहेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रवेश गरेको सलह किरा नरैनापुर गाउँपालिकाको गंगापुर हुँदै हिजो नै डुडुवामा प्रवेश गरेको थियो । सलहको झुण्ड अहिले नेपालगन्ज हुँदै उत्तर पश्चिमतर्फ अघि बढिरहेको छ ।

बाँकेमा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन् । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानहरुले सलह भगाउन थाल ठटाउने, आगो बालेर धुवाँ निकाल्ने उपायहरु गरिरहेका छन् ।

डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको किसानहरुले बताएका छन् । सलह किरा एक्कासी प्रबेश गरेपछि कृषिबालीलाई निकै क्षति पुरयाएको र त्यसको एकीन विवरण केही दिनमा आउने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १०:५८