सूचनाको शक्ति - The Power Of Information

        

बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै बढायो जोखिम

फाइल तस्वीर

बैतडी । मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करीब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ ।

विक्रम संवत् २०१८ सालदेखि शुरू भएको पहिरोले ९ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ । तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय वीरसिंह भण्डारीले बताए ।

ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताए । ‘कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘वर्षा शुरू भयो कि पहिरोकै डर हुने गर्दछ ।’ पहिरोकै कारण घर भत्कने अवस्थामा पुगेको स्थानीय लोगसिंह भाटले जानकारी दिए ।

उनले भने, ‘आँगन नजिकैबाट पहिरो गएकाले निकै डर लाग्ने गर्दछ ।’ अहिले पनि २०–२५ परिवार पहिरोको जोखिममा रहेका भाटको भनाइ छ । पुर्चौंडी नगरपालिका–८ लामुनी पहिरोको सास्ती पनि उस्तै छ । पहिरोले प्रत्येक वर्ष नोक्सानी गर्ने गरेको स्थानीय गणेश साउँदले जानकारी दिए ।

पहिरोका कारण खेतीयोग्य जमीन प्रत्येक वर्ष बग्दै गएको छ । उनले भने, ‘पहिरो नियन्त्रणका लागि करीब २ करोड खर्च भइसकेको भए पनि पहिरोमुनि तटबन्ध निर्माण गरेको हुँदा तटबन्ध पनि पहिरोले बगाउने गरेको छ ।’ मेलौली नगरपालिकाको विशालपुरमा पनि पहिरोको जोखिम रहेको स्थानीय महेश भट्टले जानकारी दिए ।

उनले भने, ‘पहिरोका कारण प्रत्येक वर्षामा स्थानीयवासी डरमै बस्नुपर्ने अवस्था छ ।’ वर्षा शुरू भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ तर पनि धेरै स्थानीय तहहरूले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन् । रासस

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १३:२६