काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमागत जेठ १० मा ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । जातीय भेदभाव र छुवाछुतका कारण नवराज विक र सुष्मा मल्लको विवाह रोक्न खोज्नु नै यो अपराधको प्रारम्भ बिन्दु भएको समितिको निष्कर्ष छ ।
नवराज विक युवाहरू लिएर प्रेमिका लिन गएकाबेला युवतीकी आमाले हारगुहार गरी वडा अध्यक्षसहित गाउँले बोलाई संगठित र योजनाबद्ध रूपमा उनीसहित ६ जनाको हत्या गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘घटना कुनै भवितव्य होइन योजनाबद्ध नै हो,’ समितिको ठहर छ । घटना घट्दा अपराधी पक्राउ गर्नुको साटो घाइतेलाई पक्राउ गर्नेकुरा पनि रहस्यमय रहेको समितिको भनाइ छ ।
घाइतेले पटकपटक ६ जना हराए खोज्नुभन्दा पनि उनीहरूको कुरा नसुनेर प्रहरीले एकलौटी गरेर गम्भीर लापरबाही गरिएको समितिको निष्कर्ष छ । घटनाअघि, घटना हुँदा, घटनापछिको अवस्था हेर्दा घटना योजनाबद्ध र संगठित प्रकृतिको रहेको समितिले प्रतिवेदनमा उल्लेख छ । निर्वाचित जनप्रतिनिधि घटनाबारे बेखवर हुनु, पीडितलाई सहानुभूति दिनुपर्नेमा सम्पर्क नै नगर्नु, उनीहरूलाई भेट्न नजानुजस्ता कुरा पनि रहस्यमय रहेको समितिको निष्कर्ष छ ।
घटना ४५ मिनेटदेखि १ घण्टाभित्रमा घटेको तर एकै ठाउँमा दुईचार दिनको अन्तरमा लास भेटिनुपनि अनुसन्धानको अर्को विषय भएको समितिले बताएको छ । ‘एकैचोटी ११ गते, १४ गते २० गते एकैठाउँमा लास भेटिनुले थप अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ समितिका सदस्य मीनबहादुर विश्वकर्मले बताए । घटनामा प्रहरीले पर्याप्त अनुसन्धान गरेको नदेखिएको भन्दै विधिमा गम्भीर लापरबाही भएको देखिएको समितिको निष्कर्ष छ ।
नेपालको विद्यमान कानुन प्रक्रियामा व्यापाक सुधार गर्नुपर्ने आवश्यकता पनि समितिले औंल्याएको छ । भाग्नेक्रममा सेती नदीमा बगेर मृत्यु भएको भन्ने कुरा कहीँकतैबाट पनि पुष्टि नहुने हुँदा बन्चरोले र बाउसाले हानेको चोटलाई पनि डुबेर हो भन्ने कुरा षडयन्त्रमूलक भएको समितिको ठहर रहेको छ । समितिले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संसदीय समितिले काम सुरु गरेको एक महिनाभित्र प्रतिवेदन मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको हो ।
घटनाको कारण तल्लो जातको केटासँग विवाह गर्न माइतीपक्षले अस्वीकार गरेको देखाइएको छ । चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । सबैलाई आजीवन कैदको माग गरिएको छ ।घटनाको छानबिन गर्न जेठ २६ गतेको प्रतिनिधिसभा बैठकबाट नेकपाका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
संसदीय विशेष छानबिन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो । त्यसपछि समिति सदस्यहरू घटनास्थल प्रस्थान गरेका थिए । समितिका सदस्यहरूले घाइते, मृतकका परिवार र विज्ञहरूसँग भेटेर घटनाबारे जानकारी लिएका थिए । घाइतेलाई भेला पारेर आक्रमणको रिहर्सल पनि गराउनुका साथै कसरी आक्रमण भयो भनी घाइतेले देखाएका थिए ।
पौडेलको संयोजकत्वमा बनेको विशेष समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुंके, प्रकाश रसाइली (स्नेही) विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव सदस्य रहेका छन् । उक्त समितिको म्याद काम सुरु भएको मितिले ३० दिन तोकिएको थियो ।
सत्यपाटी ।