नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर ।
बाँके । स्थानीय बासिन्दाका मागलाई सम्बोधन गर्दै नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गर्न लागेको रंगशाला डिपिआर तयार भएर माटो पटानको काम भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–६ मा रहेको करिब १२ बिघा जमिनमध्ये पाँच बिघा जमिनमा रंगशाला निर्माणको काम सुरु भएको मेयर डा. धवलशमशेर राणाले बताए ।
नेपालगन्ज– ६ फुल्टेक्रास्थित करिब १२ बिघा जमिन मुस्लिम समुदायका लागि कर्वला, केही जमिन हिन्दु धर्मावलम्बीले प्रयोग गर्दै आएका थिए । रंगशाला निर्माणका लागि पटकपटक प्रयास गरिए पनि स्थानीय बासिन्दाबीच सहमति नहुँदा रंगशाला निर्माण गर्ने कार्य सुरु हुन सकेको थिएन । क्रिकेटको सहरका रुपमा चिनिए पनि नेपालगन्जमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला थिएन । नेपालगन्जले दशकदेखि प्रतियोगिता आयोजना गर्नका लागि मंगलप्रसाद उच्च माविको मैदान प्रयोग गर्दै आएको थियो ।
रंगशाला बनाउने विषयमा सहमति भए पनि सामाजिक सद्भावलाई मध्यनजर गर्दै केही कुरामा स्थानीय बासिन्दाले अझै केही विषयमा असमति जनाउँदै आएका छन् । स्थानीयका उचित मागलाई सम्बोधन गरेर अगाडि बढ्ने सोमबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले छलफल कार्यक्रममा बताए । मेयर राणाले नेपालगन्जको गौरवसँग जोडिएको विषयमा ऐतिहासिक निर्णय भएको बताए ।
उनले भने, ‘एउटा गम्भीर र इतिहास जोडिएको कुरामा निर्णय भएको छ । मैले २० वर्षअघि रंगशाला बनाउन प्रयास गरेको थिएँ । तर सहमति जुट्न सकेको थिएन । हिन्दु र मुस्लिम समुदायको सहमतिबीच सहमति जुटाउन ५० वर्ष अघिदेखि प्रयास गरिएको थियो । आज आएर दुवै पक्षले नेपालगन्जको गौरव बढाउने निर्णयमा सहमति जनाएका छन् । हामी स्थानीयका मागलाई सम्बोधन गरेर, खुसी बनाएर रंगशाला निर्माण गर्छाैं ।’
यसै वर्ष नेपालगन्ज उपमहानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) छनोट समितिका पूर्वप्रमुख एवम् नेपालगन्ज उपमहानगरपालिका– २ अध्यक्ष सुनीलसिंह हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । जसले रंगशाला निर्माणमा सहमति जुटाउने काम गरेको थियो । कार्यदलले स्थानीयसँग छलफल गरेर रंगशाला निर्माणका विषयमा सहमति जुटाएको थियो ।
स्थानीयले सहमति जनाएपछि नगरपालिकाले आन्तरिक र प्रदेशको बजेटबाट करिब १ करोड खर्च गरेर माटो पटानको काम गरिरहेको छ । नगरपालिकाले अन्य योजनाको बजेट घटाएर पनि रंगशाला निर्माणको कामलाई तीव्रता दिएको मेयर राणाले बताए । पछिल्लोे पटकको छलफलमा पाँच बिघामा रंगशाला, अन्य जमिनमा मुस्लिम समुदायको करवला, केही जमिन हिन्दु समुदायलाई र बाँकी जमिन वडा कार्यालय, सार्वजनिक पार्क, स्कुल बनाउने सहमति भएको कार्यदलका संयोजक हमालले बताए ।
प्रदेश नम्बर ५ क्रिकेट संघ एवम् बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष दुर्गा थापाले नेपाली क्रिकेटकै लागि यो ऐतिहासिक निर्णय भएको बताए । उनले भने, ‘वर्षांैपछि आज भगवान्ले हाम्रो कुरा सुन्नुभयो । क्रिकेटमा नेपालगन्जको इतिहास बलियो छ । तर क्रिकेट रंगशाला नहुँदा यहाँको क्रिकेट खस्कँदो अवस्थामा पुग्यो । संघले मैदान बनाउन प्रयास गरे पनि सफल हुन सकेको थिएन । आज नेपालगन्जवासीले गर्व गर्न लायक योजनामा सहमति जुटाएका छन् । अब संघले मैदान निर्माणका लागि कुनै कसुर बाँकी राख्दैन ।’
नगरपालिकासँग मिलेर यसै वर्षदेखि क्रिकेट खेल्न मिल्ने पिच बनाउने प्रयास गरिने योजना रहेको अध्यक्ष थापाले बताए । उनले भने, ‘आज हामीले खेल जुनसुकै धर्म, समुदायभन्दा माथि छ भनेर सन्देश दिएका छौं । क्रिकेट सबैको साझा खेल हो । यसले विभिन्न धर्म, जातलाई एउटै सूत्रमा बाँध्न सिकाउँछ । मलाई लाग्छ, अब रंगशाला नेपालगन्जको एउटा गर्व गर्ने योजना बन्नेछ । रंगशाला निर्माण गर्ने कार्यलाई संघले मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्छ ।
#नागरिकबाट
कमल खत्री ।