सूचनाको शक्ति - The Power Of Information

        

मास्क नलाए जरिवाना, १०० रुपैयाँमै घोटाला !

बाँके । मास्क नलगाएर घरबाहिर निस्किनेहरु प्रहरीको निगरानीमा परिरहेका छन् । नेपालगन्जका विभिन्न चोकबाट प्रहरीले मास्क नलगाएर हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले पिकअप भ्यान र ट्रकमा हालेर गणेशमान चोक नजिकैको प्रहरी विधि विज्ञान प्रयोगशालाको परिसरमा पुर्याउँछ ।

गृह मन्त्रालयले मास्क नलगाएर घर बाहिर निस्किनेलाई कारबाही गर्न निर्देशन दिएपछि बाँकेमा समेत प्रहरीले त्यस्ता व्यक्तिलाई कारबाही गर्न थालेको हो । प्रहरी प्रयोगशालाको परिसरमा लगिएका उनीहरुलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना गरेर प्रहरीले छोड्दै आएको छ । सबैबाट १०० रुपैयाँका दरले जरिवाना लिए पनि प्रहरीले भने कसैलाई पनि रसिद भने दिँदैन ।

चेकजाँचका क्रममा मास्क नलाएका व्यक्तिले खुरूक्क प्रहरीले भने अनुसारको जरिवाना तिरे पनि रसिद भने दिने नगरेको यहाँबाट खुल्यो । रसिद नै नकाटेपछि जरिवाना बापतको उक्त रकमको कुनै लेखाजोखा नहुने र प्रतिव्यक्ति उठाइएको १०० रुपैयाँमा घोटाला हुने भन्दै सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले उक्त कार्यको विरोध गरेका छन् ।

‘१०० रुपैयाँ जरिवाना लिनुभन्दा त्यही १०० रुपैयाँको मास्क दिएको भए आहा कति गजब’ फेसबुकमा प्रदिप राजवंशीले लेख्छन्, ‘यहाँ त रसिद नी दिदैनन् रे ?’ आइतबार दिउँसो नियन्त्रणमा लिएका कुनै व्यक्तिहरुलाई प्रहरीले रसिद नै नदिएर १०० रुपैयाँका दरले जरिवाना बापत असुलेको थियो ।

आइतबार दिउँसो मास्क नलगाएको भन्दै कारबाहीमा परेका दीपक खनालले आफूले कारबाहीबापत १०० रूपैयाँ तिरेको बताए । ‘मास्क नलगाएको भन्दै प्रहरीले १०० रुपैयाँ जरिवाना तिरायो,’ उनले भने, ‘प्रहरीसँग जरिवाना तिरेको रसिद माग्दा उल्टै झर्पादै रसिद दिएनन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ र बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको निर्देशनमा मास्क नलगाएर हिड्नेलाई धमाधम पक्राउ गरिएको हो । ‘जरिवाना तिराएको छ । तर, रसिद दिइएको छैन’ कारकाँदोका स्मृति डिसीले भने, ‘यसरी रसिद बिना लिएको रकम गैरकानूनी असुली नभएर के हुन्छ ?’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुभाष खड्काले मास्क नलगाई सडकमा निस्किनेहरुलाई कारबाही गर्न थालिएको बताए । ‘मास्क नलगाई घर बाहिर निस्किनेलाई हामीले कारबाही गरेर छोड्ने गरेका छौं,’ उनले भने, ‘केहीदिनयता मास्क नै नलगाई बाहिर निस्किनेहरुको संख्यासमेत बढेको छ ।’

बिना रसिद जरिवानाबापत रकम असुलीबारे प्रश्न गर्दा उनले भने, ‘रजिष्टरमा हस्ताक्षर गराएर मात्र रकम लिने गरेका छौं ।’ अन्य जिल्लामा समेत जरिवानाबापत रसिद नदिएर रजिष्टरमा मात्र हस्ताक्षर गराउने गरेको पाइएकाले सबैको सहमतीमा त्यस्तै गरिएको प्रहरी नायब उपरीक्षक खड्काले भने । ‘हामीले सबैजनाको तथ्यांक रजिष्टरमा उतारेका हुन्छौं,’ उनले भने, ‘सबै जरिवानाबापत उठेको रकम जिल्ला प्रशासनमा बुझाउँछौं । यसमा अनियमिता हुने भन्ने कुरै हुँदैन ।’

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार ०८:५७