सूचनाको शक्ति - The Power Of Information

        

उपसचिव रेग्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव मनप्रसाद रेग्मी उपर गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको मुद्दा दायर गरेको छ । अख्तियारले रेग्मी सार्वजनिक सेवामा प्रवेश गरेको २०५३ कार्तिक २२ देखि २०७६ चैत्र मसान्तसम्मको अवधिलाई जाँच अवधि मानेर अनुसन्धान गरेको थियो ।

नेपाल राष्ट्र बैँकबाट प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानका क्रममा रेग्मीले आफू एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीसमेतका नाममा स्रोत नखुलेका सम्पत्तिहरु राखेकोले उनीहरुलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।

उपसचिव रेग्मीविरुद्ध करिब साढे ४ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरुपमा आर्जन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नेपाल राष्ट्र बैँक, वित्तीय जानकारी इकाईले गरेको उजुरीमा रेग्मीको नाममा विभिन्न बैंकहरुमा रहेको खातामा कर्जा कारोवारबाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाख भन्दा बढी देखिएको छ ।

उजुरी उपरको अनुसन्धानको क्रममा निजको बैकिङ्ग कारोवार एवं सिर्जित चलअचल सम्पत्ति तथा लगानी खर्चहरुका सम्बन्ध संकलित प्रमाणका कागजातहरूका आधारमा अख्तियारले अनुसन्धान गरेको प्रवक्ता कोइरालाको भनाइ छ । जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्न रेग्मीले ७ करोड ३१ लाख ४५ हजार २९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ भने २ करोड ७७ लाख ११ हजार ५९२ रुपैयाँमात्र आयआर्जन गरेको अख्तियारले जनाएको छ ।

बाँकी आयभन्दा बढी खर्च गरेको रकमहरु बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट निजको वैध आयको तुलनामा चार करोड ५४ लाख ३३ हजार ६९८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ । गैरकानूनी सम्पत्ति आर्जन सम्वन्धमा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार ०८:२६