सूचनाको शक्ति - The Power Of Information

        

एनटिभी कोहलपुरमा कर्मचारी भर्ना प्रक्रियामा अनियमितताको आशंका

बाँके । नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र लागि आवश्यक कर्मचारी भर्ना प्रक्रियामा अनियमितताको आशंका देखिएको छ । केहि असन्तुष्ट व्यक्तिहरूले उक्त प्रक्रियामा आफ्ना दलनिकट व्यक्तिहरूलाई नियमविपरित तरिकाले कर्मचारी नियुक्ति प्रक्रिया शुरू गरिएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल टेलिभिजन कोहलपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी साढे ३ महिनादेखिको लकडाउनको समयमा लोकसेवा आयोगको नियम विपरित २०७७ असार १७ मा विज्ञापन खोली २०७७ असार २३ गते अन्तिम मिति अर्थात् सात दिनको म्याद राखि आफुनिकट दलका कार्यक्रर्ताको भर्ती केन्द्र बनाएको उनीहरूको आरोप छ ।

‘संस्थानको कर्मचारी सेवा शर्त नियमावलीको आधारमा कर्मचारी माग गर्नुपर्ने त्यो देखिएन । यसअघि नेपाल टेलिभिजनले स्थाई नियुक्तिका लागि बिज्ञापन निकालिएको सूचना पनि यो लकडाउनले गर्दा रोकिएको अवस्थामा यो विज्ञापन खुलाइनु कुनै पनि हिसाबले नियमसंगत तथा जायज छैन,’ नाम नबताउने शर्तमा असन्तुष्ट मध्येका एक व्यक्तिले भने ।

नयाँ संरचना अनुसार एनटिभीको नियमावलीमा कार्यालय प्रमुख हुनलाई दशौं तहको कर्मचारी हुनुपर्ने नियम छ । टेलिभिजनका पाँचवटा टेलिभिजन शाखामध्ये चार वटामा दशौं तहका कर्मचारी कार्यालय प्रमुख छन् । तर कोहलपुरमा भने आफ्ना कार्यकर्ता भर्ती गर्ने उद्देश्यले टेलिभिजनका महाप्रवन्धक गोविन्द रोकाले हतारहतारमा आफ्नो मान्छेलाई सेटिङ मिलाएर नवौं तहका योभन्दा पहिलाका कार्यालय प्रमुखलाई हटाएर आठौं तहकालाई कार्यालय प्रमुखको जिमेवारी दिएका भन्दै उनीहरूले विरोध जनाएका छन् ।

टेलिभिजनको ईटहरी प्रशारण केन्द्रमा पनि दशौं तहका कार्यालय प्रमुख रहेका छन् । तर कोहलपुरमा भने असार एक गतेदेखि लागु हुने गरि आठौं तहका कर्मचारीलाई कार्यालय प्रमुख बनाइएको छ । लकडाउनका समयमा कुनै पनि संस्थानले करारमा वा दैनिक ज्यालादारी पदमा कुनै कर्मचारी पनि नियुक्ती नगर्न अर्थ मन्त्रालयले सार्वजनिक संस्थानलाई निर्देशन दिएको छ ।

तर त्यसको वेवास्ता गर्दै नयाँ विज्ञापन खुलाइएको छ र उक्त बिज्ञापनमा कुनै पनि समावेसी कोटादेखि लिएर योग्यता तथा अनुभवबारे प्रष्ट खुलाईएको छैन । नयाँ कार्यालय प्रमुखले बिज्ञापन खोली नतिजा प्रकाशन पनि गरि सकिएको छ । नतिजामा मधेसी मुस्लिम पिछडिएका क्षेत्रका मानिसलाई अवसर नदिई भनसुनमा आधारमा नियुक्त गरिएको छ ।

राम्रो तथा दक्ष व्यक्तिलाई भन्दा आफ्ना नजिकका आसेपासेलाई अवसर दिइएको छ । कुनैपनि सरकारी संस्थानको बिज्ञापन खुलाउदा सम्बन्धित संस्थानको नियम र वोर्ड मिटिङले निर्णय गरि सम्बन्धित आवश्यक जनशक्ति भनी निश्चित संख्या माग गरिएको हुन्छ । तर नेपाल टेलिभिजन कोहलपुरको हकमा भने यो देखिएन । यसबाट पनि छर्लङ्ग हुन्छ कि शक्तिको आडको भरमा यसले विधि तथा नियमको धज्जी उडाएको देखिन्छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार ११:०८