सूचनाको शक्ति - The Power Of Information

        

बाँके र दाङ्गका ३३ वटा फर्म कारबाहीमा

बाँके । संयुक्त बजार अनुगमन टोलीले बाँकेमा ३३ वटा फर्मलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा गरिएको ५७४ अनुगमनमध्ये बाँकेमा ३० र दाङ्गको ३ फर्मलाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृण्णप्रसाद पौड्यालले जानकारी दिए ।

अनुगमनको क्रममा सामान्य अवस्थामा रहेका ३२० फार्म रहेको र सामान्य त्रुटि भेटिएका २०५ वटा पसल तथा फार्मलाई तत्काल सुधार गराइएको पौड्यालले बताए । बाँकेमा कारबाहि गरिएको पसलहरुबाट २२ लाख ८० हजार जरिवाना तिराइएको छ भने दाङ्गको ३ पसललाई ४ लाख २० हजार तिराइएको कार्यालयले जनाएको छ । अनुगमन टोलीले २ वटा पानी उद्योगलाई कारोबार रोक्का गर्न निर्देशन दिएको जनाएको छ ।

म्याद सकिएको वा खान प्रयोग गर्न अयोग्य सामान ५ लाख ३० हजार ५५ रुपैयाँ बराबरको नष्ट अथवा फिर्ता गर्न निर्देशन दिएको कार्यालयले जनाएको छ । यीमध्ये लकडाउनको अवधिमा (चैत्र ११ गतेदेखि जेष्ठ मसान्तसम्म) ११८ वटा अनुगमन भएका छन् । जसमा १५ वटा फर्मलाई कालोबजारी तथा म्याद नाघेका बस्तु विक्री गरेको कसुरमा १५ लाख रुपैयाँ जरिवाना गरिएको निमित्त प्रमुख पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १०:४७