सूचनाको शक्ति - The Power Of Information

        

घुस दिन खोज्दा प्रहरी फन्दामा

दाङ । प्रहरी कार्यालयभित्रै पुगेर प्रहरीलाई लागुऔषध मुद्दा मिलाइदिन भन्दै घुस रकम दिन खोजेको आरोपमा दुईजना पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर बेचबिखन आरोपमा प्रहरी नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाइदिन भन्दै १ लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको मुद्दा मिलाइदिन भन्दै जबरजस्ती रकम दिन खोज्ने घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीका २७ वर्षीय गोविन्द शाह र प्युठानको स्वर्गद्वारी नगरपालिका–५ भिंग्री घर भई हाल लमही नगरपालिका–५ लमही बजार बस्ने ३० वर्षीय समिर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाइएको उनले बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १५:३४