सूचनाको शक्ति - The Power Of Information

        

दम्पती हत्याका फरार मुख्य अभियुक्त १४ वर्षपछि लखनउबाट पक्राउ

बाँके । काठमाडौंको सीतापाइलामा एक दम्पतीको हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई सो हत्याकाण्ड भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सीतापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या भएको थियो ।

सोही सःमिलमा काम गर्ने सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी ती दम्पतीको हत्या गरेर फरार रहेको प्रहरीले बताएको छ । तीमध्ये साहलाई आइतबार बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि बिधि अपनाएर ती मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको ब्युरोले जनाएको छ ।

‘उनीहरुले आफैले काम गरिरहेको सःमिलका मालिकले काम बिगारेको भनी गाली गरेको विषयलाई लिएर सोको बदला लिन सुवेदी, उनकी श्रीमती र छोरालाई धारिलो हतियारले आक्रमण गरेका थिए,’ सीआईबी काठमाडौंका प्रवक्ता बेलबहादुर पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण गर्ने दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊ गई दुई वर्षसम्म सँगै बसेको र प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधार कार्ड लगायतका कागजात बनाई पहिचानसमेत बदली बसीआएका थिए ।’ ब्युरोले यो हत्याकाण्डलाई प्राथमिकतामा राखी निरन्तर छानविन गरेको बताएको छ ।

‘उक्त घट्नामा गम्भीर घाइते भइ बाँच्न सफल (तत्कालको समयमा १५ वर्षका) विलभ सुवेदीसँग निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि भई अन्ततः सुवेदी दम्पती हत्याका मख्य अभियुक्तसम्म पुग्न र निजलाई पक्राउ गर्न सीआईबी सफल भएको र फरार रहेका अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारवाहीको दायरामा ल्याई पीडित परिवारलाई न्यायको प्रत्याभूती दिलाउने कार्यमा कुनै कसर बाँकी नराखिने व्यहोरो सुचित गरिन्छ,’ ब्युरोले भनेको छ ।

हत्या अभियुक्तमध्येका जयकिशोर साहलाई सीआईबीले लखनउबाट पक्राउ गरेर नेपाल ल्याएको छ । तीनदिन पहिले लखनउमा पक्राउ परेका साहलाई आइतबार बाँकेको सीमाना हुँदै काठमाडौं लगिएको हो । तर हत्याका अर्का अभियुक्त प्रताप राना अझै फरार छन् । साहलाई सोमबार सीआईबीले सार्वजनिक गरेको छ । प्रहरीले साहलाई नेपाल प्रहरी स्वयम्भू वृत्तमार्फत मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १४:५८